गोरखाको बारपाकबाट दुई जना कोरोना संक्रमितको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
बारपाक सुलिकोट गाउँपालिका-२ का ६० र २९ वर्षीया महिलालाई हेलिकोप्टरमार्फत गोरखा जिल्ला अस्पताल ल्याइएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
डाक्टरले रेफर गर्न सुझाव दिएपछि शनिबार दिउँसो मनाङ एअरको हेलिकोप्टरमार्फत उद्धार गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख मोदनाथ भट्टले जानकारी दिए ।
बारपाकमा पछिल्लो १० दिनयता अधिकांश गाउँलेमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको थियो । गाउँपालिकाका स्वास्थ्यकर्मी परीक्षणका लागि पुग्दा गाउँलेले परीक्षण गर्नै मानेनन् ।
धेरै संख्यामा बिरामी भेटिएपछि गाउँपालिकाले परीक्षणमा समस्या भएको भन्दै प्रदेश र केन्द्र सरकारसँग सहयोग मागेको थियो । त्यसपछि प्रदेश सरकारको तर्फबाट डाक्टर, प्रयोगशालाकर्मी, जनस्वास्थ्य निरीक्षक, मनोसमाजिक परामर्श लगायत १० जनाको टोली बारपाक पुगेको छ ।त्यो टोलीले बारपाकमा अहिले कोरोना परीक्षण गरिरहेको निर्देशनालयले जनाएको छ ।