काठमाडौँ । यसअघि सर्भे भएको कालीगण्डकी नदीमा जलमार्ग निर्माणको काम थालिने आगामी वर्षका लागि प्रस्तुत बजेटमा उल्लेख गरिएको छ ।
कालीगण्डकीमा जलयान अर्थात् पानीजहाज सञ्चालनका लागि जलमार्ग निर्माणको काम थालिने कुराले यस क्षेत्रका नागरिकमा उत्साह थपेको छ ।पाल्पाको राम्दीबाट देवघाटसम्म जलयान सञ्चालनका निम्ति छ समूहले यसअघि नै स्थलगत परीक्षण तथा सर्भे गरेका थिए । पाल्पाको राम्दीदेखि देवघाटसम्म १३५ किलोमिटर जलयान सञ्चालनको योजना बनाइएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कालीगण्डकीमा जलमार्ग निर्माणको काम यसै वर्ष थाल्ने बताए । राष्ट्रिय गौरवको योजनाका रूपमा कालीगण्डकीमा पानीजहाजको अवधारणा अघि सारिएकाले यसलाई सफल बनाउन बजेटमा समावेश भएको सङ्घीय सांसद दलबहादुर रानाले बताए ।
उनले काली नदीको किनारैकिनार करिडोर तथा कालीगण्डकीमा पानीजहाज सञ्चालन भयो भने छिमेकी देश भारतसम्म यहाँ उत्पादित सामानलाई बिक्री वितरण गर्न तथा सामान आयात निर्यातमा समेत सहज हुन विश्वास व्यक्त गरे ।सरकारले नेपालका विभिन्न नदीमा जस्तै कालीगण्डकीमा पनि पानीजहाज सञ्चालनका निम्ति परीक्षण गर्न नेपाल पानीजहाज कार्यालय काठमाडौँका निमित्त प्रमुख विपिनराज भण्डारी, जलस्रोतविद् अनुप खनाललगायतको टोलीले सर्भे गरेको थियो ।
उनले अन्तर्राष्ट्रियस्तरमा सञ्चालन हुने पानीजहाजमा नेपालको झण्डा राखेको पानीजहाज सञ्चालन गर्ने योजना रहेको र आन्तरिकरूपमा नेपालका नदीमा पानीको बहावअनुसारका साना खालका पानीजहाज सञ्चालन गरिने बताए । गत चैतमा कोशी नदीमा तुम्लिङटारबाट चतरासम्म, नारायणीमा देवघाटबाट तल गण्डकसम्म, काली नदीमा राम्दीदेखि देवघाटसम्म तथा कर्णाली नदीमा जहाज सञ्चालनका निम्ति सर्भे भएको थियो । कालीगण्डकी नदीमा स्थलगत निरीक्षण गरेको टोलीले पानीको सतहलाई हेर्दा पानीजहाज सञ्चालनका निम्ति सम्भव रहेकामा जोड दिएको थियो ।
जलस्रोतविद् खनालले कालीगण्डकी नदीमा नेपालमै पहिलोपटक अत्याधुनिक मेसिनबाट पानीको गहिराइ नाप गरिएको, केही ठाउँमा गहिराइ नपुग्ने तथा छेउछाउका ढुङगा हटाउनुपर्ने ठाउँमा हटाउने र अन्तर्राष्ट्रियस्तरमा भएका प्रयासलाई प्रयोग गरी तयार गरेको प्रतिवेदन सरकारलाई बुझाउने जानकारी दिए ।
छ वटा टोलीले कालीगण्डकी नदीमा परीक्षण गर्दैछन् । विसं २०४०/४१ तिर पानीको अनुमानित आकलनबाट सञ्चालन भएको जलयान पनि त्यो समयमा कालीगण्डकी नदीमा सफल भएकाले अहिले प्रविधिको प्रयोगबाट सुरक्षित हिसाबले नापजाँच परीक्षण गरिएको टोलीले जानकारी दिएको छ ।