लुम्बिनी प्रदेश राष्ट्रियसभा उपनिर्वाचनमा पाण्डे र खड्काको प्रतिस्पर्धा, परिणाम आजै आउने
  • CIA Khabar

  • काठमाडौँ- कोरोना भाइरसको महामारीका बीच लुम्बिनी प्रदेशमा  राष्ट्रियसभाको उपनिर्वाचन जारी छ ।उपनिर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार  छन्।

    दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा हुने निर्वाचन बिहान ९ बजे शुरू भएको मतदान अपराह्न ३ बजेसम्म हुनेछ ।

    मतदानका लागि तीन वटा मतदान स्थल तोकिएको छ । प्रदेशसभा सदस्यका लागि (क), गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि (ख) र कोभिड सङ्क्रमितका लागि (ग) मतदान केन्द्र तोकिएको छ ।

    निर्वाचनमा मतदान गर्नेहरुले अनिवार्य पिसिआर परीक्षण रिपोर्ट पेस गर्नु पर्ने मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए।

    निर्वाचनमा ३ सय मतदाता छन् । जसमा प्रदेश सांसदको संख्या ८३  छन् भने स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष गरी २१७ मतदाता रहेका छन् ।

    उपनिर्वाचनमा मतदाता नामावलीमा नाम नभएका चार जना मन्त्रीले पनि मत दिन पाउने भएका छन् ।

    जनता समाजवादी पार्टी नेपालले कारबाही गरेर पद गए पनि पछि सर्वोच्च अदालतले पुनर्बहाली गरेका कल्पना पाण्डेय, सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी र विजयबहादुर यादवलाई पनि निर्वाचन आयोगले मताधिकार दिएको हो ।

    यो उपनिर्वाचनमा प्रदेशसभामा कुल ८७ सांसद रहे पनि कारवाहीमा परेका थप चार जना सांसद भने मतदानबाट वञ्चित हुने भएका छन्।

    माओवादी केन्द्रबाट निर्वाचित दधिराम न्यौपाने र दिनेश पन्थी पार्टीको कारवाहीमा परी पदमुक्त  हुँदा मतदान गर्न पाउने छैनन्। त्यस्तै दाङबाट निर्वाचित एमाले सांसद अमरबहादुर डाँगीले पदबाट राजीनामा दिएको हुँदा उनले पनि मतदाधिकार पाउने छैनन् ।

    यो निर्वाचनमा एकजना प्रदेशसभा सदस्यको मतभार ४८ छ । ८३ जनाको कुल मतभार ३ हजार ९ सय ८४ छ । स्थानीय तहका प्रमुख–उपप्रमुख गरी २१७ मतदाता छन् ।

    उनीहरुको कूल मतभार ३ हजार ९ सय ६ छ । प्रदेश र स्थानीय तह जोडेर कुल मतभार ७ हजार ८ सय ९० पुगेको छ ।

    मतपरिणाम आजै सार्वजनिक हुने

    निर्वाचनको मतपरिणाम भर्चुअल माध्यमबाट आजै सार्वजनिक गरिने तयारी छ ।

    कोरोनाको समयमा भिडभाड कम गर्नका लागि भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक गर्न लागिएको सहायक निर्वाचन अधिकृत मीनराज भट्टराईले जानकारी दिए ।

  • १७ जेष्ठ २०७८, सोमबार ०९:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images