कोरोना संक्रमण पुष्टि भएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत थापाको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।
विवेकशील साझाका संयोजक मिलन पाण्डेका अनुसार पछिल्लो रिपोर्ट नेगेटिभ देखिएको हो ।
‘ग्राण्डीमा उहाँ सिकिस्त हुँदा पनि रिपोर्ट नेगेटिभ नै थियो । त्यसपछि मेडिसिटीमा पीसीआर परीक्षण गर्दा पोजिटिभ आयो,’ उनले भने, ‘ पछिल्लो रिपोर्ट नेगेटिभ आउनु सुखद् छ । तर, स्वास्थ्य जटिलता अझै छ। ‘
कोरोना संक्रमण भएपछि सुरुमा थापालाई ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था जटिल भएपछि इक्मो प्रविधिबाट थप उपचार गर्नुपर्ने भएपछि ग्राण्डी अस्पतालबाट थापालाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।
यसअघि आइतबार साँझ विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले थापाको स्वास्थ्य अवस्थामा कुनै सुधार नआएको र अवस्था गम्भीर रहेको बताएका थिए ।
थापाको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै मिश्रले लेखेका थिए. ‘उज्वलजीको स्वास्थ्य अवस्थामा कुनै सुधार आएको छैन र अवस्था अत्यन्तै गम्भिर छ । डाक्टरहरूले सकेको गरिरहेका छन् । डाक्टरहरू र देश-विदेशबाट प्राप्त शुभेच्छुकहरूको सहयोग, प्रेरणा र प्रार्थनाप्रति उज्वलजीको परिवार अत्यन्तै अनुग्रहित छ। उज्वलजीको लागि प्रार्थना गर्दै रहनुहोला । प्रार्थनामा शक्ति हुन्छ ।’