काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर वरिष्ठ नेता राजेन्द्र महतोले सरकारमा सहभागीताबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलमा जुटेका छन् ।
प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भएको छलफलमा सरकारमा सहभागी हुँदा पाउने भनिएका ८ मन्त्रालयका विषयमा छलफल भइरहेको जसपाका एक नेताले जानकारी दिए ।
‘प्रधानमन्त्री हाम्रा मागमा सकारात्मक देखिनुभयो, हामी पनि उहाँप्रति सकारात्मक भएका हौँ, ८ मन्त्री र २ राज्यमन्त्रीमा कुरा भएकाले त्यसबारे नेताहरूले छलफल गरिरहनुभएको छ,’ ठाकुर निकट नेताले भने ।
ओलीसँगको भेटमा जसपाका अन्य मागका विषयमा छलफल भएको छ । जसपाले नागरिकता, संविधान संसोधन, मधेस आन्दोलनका क्रममा झुटा आरोप लगाएर पक्राउ गरिएका कार्यकर्ताहरूको मुद्दा फिर्ता, लाल आयोगको प्रतिवेदन सार्वजनिक लगायतका माग राख्दै आएको थियो । यसमध्ये अधिकांश माग ओली सरकारले पूरा गरेको छ ।
संविधान संसोधनका लागि कार्यदलसमेत बनेपछि जसपाको ठाकुर-महतो खेमा ओली सरकारमा सहभागीताका लागि सकारात्मक बनेको हो ।