काठमाडौँ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसद नभएको अवस्थामा सरकारले अध्यादेशमार्फत बजेट ल्याउनु असंवैधानिक कदम भएको ठहर गरेको छ ।
बजेटबारे पार्टीको धारणा सार्वजनिक गर्न सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस सांसद एवं छायाँ सरकारका अर्थमन्त्री डा. मिनेन्द्र रिजालले संसद नभएको अवस्थामा सरकारले अध्यादेशमार्फत बजेट ल्याउनु गलत भएको बताएका हुन् । ‘सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको फैसला भएपछि सरकारको जसले जिम्मेवारी पाउँछ त्यसैले बजेट ल्याइहाल्छ नि १ यो विचारमा अहिले पनि हामी प्रष्ट छौँ ।’
जनतामा बजेटको लोकप्रियता बढेकाले विपक्षीले सरकारको विरोध गरेको सत्तापक्षका नेताहरुले बताइँरहदा कांग्रेसले यो सरकारको जनमत बढ्दै छ भनेर कसैलाई पनि भ्रम नभएको स्पष्ट गरेको छ ।
‘यो सरकारको जनमत बढ्दै छ भनेर कसैलाई पनि भ्रम छैन । यो सरकार आफ्नो अलोकप्रियताको सबैभन्दा गहिरो विन्दुमा पुगेको छ । त्यसैले बजेटमार्फत यो सरकार लोकप्रिय होला कि भन्ने हामीलाई चिन्ता छैन ।’ सांसद रिजालले भने, ‘हामीलाई देश र जनताको चिन्ता छ । जनता दुःखमा छन् । कोरोनाको कहरमा छौँ । अर्थतन्त्र बिग्रने खतरा छ । राजनीतिप्रतिको निराशा छ ।’
उनले जनता सुरुङको अन्धकारमा धकेलिएको तर सरकारले देशमा सुरुङ युग शुरू भएको गफ दिएको टिप्पणी गरे । उनले भने, ‘जनता सुरुङको अन्धकारमा धकेलिएका छन् । तर सरकार देशमा सुरुङको युग शुरू भयो भन्छ ।’
सरकारले वर्तमान समस्या समाधानमा ध्यान दिने भन्दा पनि पाँच वर्ष–दश वर्षपछिको कुरा गरेर जनतालाई भ्रममा पार्ने काम गरेको उनले आरोप लगाए ।
नेता रिजालले संसद पुनःस्थापना हुने कुरामा कुनै पनि शंका नरहेको पनि स्पष्ट पारे । ‘अहिले पनि विश्वास छ । सर्वोच्चले संविधान, न्याय र जनताको पक्षमा फैसला गर्छ भन्ने पूर्ण विश्वास छ । सर्वोच्चले गर्ने निर्णयपछि देशले मुक्ति पाउँछ ।’ उनले थपे, ‘लामो समयदेखि गफ हाक्ने, डिङ हाक्ने र अहंकारी सरकारबाट मुक्ति प्राप्त हुन्छ ।’