काठमाडौँ । वाग्मती प्रदेश सरकारले मदन भण्डारी फाउन्डेसनलाई दिएको ५० लाख रुपैया फिर्ता लिने निर्णय गरेको छ ।
प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनलाई दिइएको रकम फिर्ता लिने निर्णय भएको जानकारी दिए । प्रदेश सरकारले कार्यविधिबिना नै मदन भण्डारी फाउन्डेसनलाई ५० लाख रुपैयाँ दिएको भन्दै चर्को विरोध भएको थियो ।
कोरोना कहरमा स्वास्थ्य स्तर सुधार ल्याउन ऋण माग्नुपर्ने स्थितिमा कार्यकर्ता पोस्न फाउन्डेसनमा ५० लाख दिएको भन्दै अघिल्लो बैठकमा आलोचना भएपछि सत्तापक्ष र प्रतिपक्षका नेताबीच बैठकमा केही समय विवादको सिर्जना भएको थियो । मदन भण्डारी फाउन्डेसनलाई ५० लाख दिने निर्णय फिर्ता लिन तथा जथाभावी रूपमा वितरण गरिएको बजेटलाई रोक्न माग गर्दै माओवादी, कांग्रेस, विवेकशील र नेमकिपाले मोर्चाबन्दी गरेका थिए ।