‘ससर्त पुरानो कमिटी ब्युँताउन अध्यक्ष ओली तयार’
  • CIA Khabar

  • काठमाडौँ । आन्तरिक विवादमा रुमलिएको नेकपा एमालेभित्र विवाद मिलाउन दोस्रो तहका नेता सक्रिय भएका बेला अध्यक्ष केपी शर्मा ओली नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ससर्त ब्युँताउन तयार भएका छन् । माधव नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिए नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ब्युँताई पार्टी २०७५ जेठ २ गतेको अवस्थामा फर्किएको घोषणा गर्न ओली सहमत भएको एमाले उच्च स्रोतले जानकारी दिएको छ ।

    विवाद मिलाउन सक्रिय आफू पक्षधर नेताहरूसँग ओलीले आफू पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउन तयार रहेको तर त्यसका लागि नेपाल समूह पार्टीमै रहने विषयमा विश्वासिलो आधार बन्नुपर्ने बताएका छन् । यसो भएमा वक्तव्य निकालेर पार्टी पुरानै अवस्थामा फर्किएको घोषणा गरी त्यति बेलाको स्थायी कमिटीको बैठक राख्न आफू तयार रहेको उनले जनाएका छन् ।

    नेपाल समूहका तर्फबाट मध्यस्थता गरिरहेका दोस्रो पुस्ताका नेताले पनि यसबारे जानकारी दिएर नेता नेपाललाई मनाउन प्रयास गर्ने बताएको स्रोतको दाबी छ । सोमबार साँझ काठमाडौंको याक एन्ड यती होटलमा दुवै पक्षका नेताबीच भएको संवादमा पार्टीलाई कुनै पनि हालतमा विभाजनको बाटोमा लैजान नहुने र यसका लागि ओली र नेपाललाई सहमति गराउने प्रतिबद्धता व्यक्त भएको थियो ।

    संवादमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली तथा नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण बिष्ट सहभागी थिए । राति अबेरसम्म भएको बैठकले उनीहरूबीच पुरानो संरचना र पार्टीको वर्तमान अवस्थाबारे समेत छलफल भएको स्रोतले जनाएको छ। यो समाचार नागरिक दैनिकमा छ ।

  • १९ जेष्ठ २०७८, बुधबार ०७:३० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images