भक्तपुर नगरपालिकामा १६ हजारले भेरोसेल खोपको दोस्रो मात्रा लगाए
  • CIA Khabar

  • भक्तपुर। भक्तपुर नगरपालिकामा कोभिड–१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाउनेको सङ्ख्या १६ हजार ५२ पुगेको छ ।

    नगरका सबै वडामा आवश्यक जनशक्ति र स्वयंसेवक परिचालन गरी यही जेठ ५ गतेदेखि १८ गतेसम्म स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर खोप प्रदान गरिएको जनस्वास्थ्य केन्द्र इन्चार्ज डा रत्नसुन्दर लासिवाले बताए ।

    नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रले भेरोसेलको पहिलो मात्रा गत वैशाख ४ गतेदेखि १५ गतेसम्म जनस्वास्थ्य केन्द्र च्याम्हासिंह, इवामुरा अस्पताल र सिद्धिस्मृति अस्पतालमा दिएको थियो । पहिलो मात्रा लगाएका सबैलाई अहिले दोस्रो खोप लगाइएको हो ।

    “जेठ ५ गतेदेखि १७ गतेसम्म सबै वडा कार्यालयको संयोजनमा वडाका निर्धारित स्थानहरुमा खोप लगाइएको थियो”, डा लासिवाले भने, “जेठ १८ र १९ गते यसअघि भेरोसेलको पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन छुट भएका सबैलाई वडा–१० कार्यालय भवनपछाडि नगरपालिकाको बक्सिङ प्रशिक्षण हलमा दिएका छौँ ।

    डा लासिवाले खोपको पहिलो मात्रा लगाएर कोभिड सङ्क्रमण भई स्वास्थ्यलाभ गरिरहेकाहरुलाई एक महिना पूरा नभई दोस्रो मात्रा दिन नहुने प्रष्ट पार्दै उनीहरुका लागि अलग बन्दोबस्त गरिने जानकारी दिए । त्यस्तै यसअघि भारतीय खोप कोभिशिल्डको पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन बाँकी रहेकालाई दोस्रो मात्रा खोपको सूचना नआएकाले केही समय धैर्य गर्न पनि उनले आग्रह गरे ।

    नगरपालिकाले भेरोसेलको पहिलो मात्रा २१ हजार ७२१ जनालाई र कोभिशिल्डको दोस्रो मात्रा दुई हजार ४३९ लाई दिइसकेको जनस्वास्थ्य स्रोतले बताएको छ । भक्तपुर नगरवासीसँगै छिमेकी नगरपालिका र छिमेकी जिल्लाका बासिन्दाले समेत भेरोसेलको पहिलो मात्रा खोप लगाएको र अधिकांशले आफ्नो नजिकको खोप केन्द्रमा खोपको दोस्रो मात्रा लिएको डा लासिवाको भनाइ थियो ।

    खोपको पहिलो मात्रा लिएका सबैले दोस्रो मात्रा अनिवार्य लिनुपर्नेमा उनले जोड दिए । भक्तपुरमा १८ वर्ष नाघेका अझै पनि धेरैले कोभिड विरुद्धको खोप लगाउन बाँकी रहेको छ । साठी वर्षदेखि ६५ वर्ष उमेर समूहका कसैले पनि हालसम्म खोप लगाउन पाएका छैनन् ।

  • १९ जेष्ठ २०७८, बुधबार १०:१८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images