लुम्बिनीमा विपक्षीलाई पोखरेल सरकारको चेतावनी, ‘अविश्वास प्रस्ताव भन्याै भने बजेट अध्यादेशबाट ल्याइन्छ
  • CIA Khabar

  • लुम्बिनी ।लुम्बिनीमा आजदेखि सुरु हुने बजेट अधिवेशनमा सत्ता पक्ष र प्रतिपक्षी दल आ–आफ्ना रणनीतिका साथ उपस्थित हुँदैछन् । २६ वैशाखमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको विपक्षी गठबन्धन आजको बैठकमा प्रश्नैप्रश्नका साथ सहभागी हुने छ।

    नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्दीन खानले मुख्यमन्त्रीको अवैधानिक नियुक्तिबारे प्रदेशसभामा प्रश्न उठाउने बताए । उनले अविश्वास प्रस्ताव अघि बढाउन आफूहरूको अडान कायमै रहेको पनि जनाए ।

    यसअघि ६ वैशाखमा कांग्रेससहितका चार दलले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि १९ वैशाखमा विशेष अधिवेशन बोलाइएकै दिन बिहान मुख्यमन्त्रीले राजिनामा थिए । तर, राजीनामा दिएको केही घण्टामै पोखरेलले पुनः मुख्यमन्त्रीको शपथ लिएका थिए । संविधानको धारा १६८ को उपधारा १ बमोजिम ठूलो दलको हैसियतमा पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले १९ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

    अल्पमतमा रहेकै अवस्थामा प्रदेश प्रमुख धर्मनाथ यादवले जालसाजी गरेर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै विपक्षी गठबन्धन विरोधमा छ । १९ वैशाखमा प्रतिपक्षी दलहरूको विरोधका बीच प्रदेश प्रमुख यादवले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै पुगेर पोखरेललाई शपथ खुवाएका थिए ।

    आजकाे बैठकमा विपक्षी गठबन्धनले अल्पमतमा रहेको सरकारले बजेट प्रस्तुत गर्न नमिल्ने र त्यसको विरोध गर्ने बताएको छ । तर, बजेट अधिवेशनमा अविश्वास प्रस्ताव अघि बढाउनुलाई सत्ताधारी एमालेले संविधानबाहिरकाे गतिविधिकाे संज्ञा दिएकाे छ । एमालेका नेताहरू ‘विपक्षीले संविधानबाहिर गएर गतिविधि गरे जे पनि हुन सक्ने’ भनिरहेका छन् ।

    एमाले संसदीय दलको बैठकले प्रदेशसभा नियमित रूपमा सुरु गर्ने र संविधानबाहिरका गतिविधि प्रदेशसभामा प्रस्तुत भए प्रतिवाद गर्ने निर्णय गरेको छ ।एमालेका सचेतक भूमिश्वर ढकालले पार्टीका सांसदहरू एक ढिक्का भएर प्रस्तुत हुने निर्णय गरेको बताए । उनले  अविश्वासको प्रस्तावको कुरा सदनमा ल्याए, त्यो स्वीकार नगर्ने बताए । ‘अविश्वासको प्रस्ताव बैठकमा ल्याइयाे भने अत्याधेशबाट बजेट ल्याउने छ । र, प्रदेशसभा अन्त्य गरिने छ ।’ यसबारे एमालेले संस्थागत निर्णय गरिसकेकाे संकेत उनले गरे । यद्यपि, संसदमा विपक्षीकाे प्रस्तुतिले नै सत्ता पक्षका कतिपय कदम तय हुने उनकाे भनाइ छ ।

  • १९ जेष्ठ २०७८, बुधबार १३:०४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images