सांसद पद गए जाओस,पिएस गुरुङ सरकारलाइ साथ दिन्छु : सांसद थापा
  • CIA Khabar

  • पोखरा । राष्ट्रिय जनमोर्चाका प्रदेश सांसद कृष्ण थापा आफू मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङकै पक्षमा रहेको बताउनुभएको छ । आफूले कुनै हालतमा कांग्रेस नेतृत्वको गठबन्धनलाई सहयोग गर्न नसक्ने बरु सांसद पद गुमाउन तयार रहेको उहाँको भनाइ छ ।

    आफ्ना बागलुङका कार्यकर्ता कांग्रेससँग मिल्न नहुने पक्षमा उभिएकाले आफू जनताकै पक्षमा बस्ने थापाको भनाइ छ । ‘म कुनै हालतमा कांग्रेसलाई सहयोग गर्न सक्दिनँ, म पहिलाकै अडानमा छु, मेरो साथ वर्तमान सरकारलाई नै छ,’ थापाले भन्नुभयो । सांसद थापा आफू बरु गोली खान तयार रहेको तर कांग्रेससँग मिल्न तयार नभएको बताउँदै आउनुभएको छ ।

    यसअघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि विपक्षीले बहुमत दाबी गर्ने दिन सांसद थापा बागलुङ जानुभएको थियो । कांग्रेस नेतृत्वको सरकार बनाउन हस्ताक्षर गर्नुपर्ने भएपछि उहाँ बागलुङ जानुभएको हो । आफूले बागलुङको ग्राउन्ड बुझेको र कांग्रेसले आफ्ना कार्यकर्तालाई दिएको दुःख सम्झेर आफू कांग्रेसलाई साथ दिने पक्षमा नरहेको उहाँको स्पष्ट धारणा छ । दलकी सचेतक आइतबार मात्रै सांसद थापालाई संसदीय दलको नेताको जिम्मेवारीबाट अपदस्त गरिएको थियो ।

    उहाँको अधिकार संसदीय दलकी सचेतक पियारी थापालाई दिइएको थियो । पियारीलाई दलको नेता बनाइएपछि उहाँ थप रुष्ट हुनुहुन्छ। ‘संसदीय अभ्यासमा दुनियाँमा एउटै दलको एक व्यक्ति दुई पद भएको अभ्यास संसदीय मर्यादा विपरीत छ,’ उहाँ भन्छन्, ‘प्रमुख सचेतक पद पनि लिएको भए तीन पद नै हजुरको हुन्थे माननीय ज्यू । कतै घुस पेठियाको षडयन्त्र नहोस् ।’ आफूलाई संसदीय दलको नेताबाट हटाएपछि सांसद पद पनि गुम्न सक्ने उहाँलाई थाहा छ ।

    तर सांसद जनताले नै बनाएकाले जनताको पक्षमा निर्णय लिँदा सांसद पद गुम्छ भनेर आफू नडराउने उहाँले बताउनुभो। ‘जनताले सांसद बनाए, जनताकै पक्षमा उभिँदा पद जान्छ भने केही भएन तर म कांग्रेससँग जान सक्दिनँ,’ उहाँले भन्नुभयो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सत्ता टिकाउने चाबी अहिले तीन सांसद भएको राष्ट्रिय जनमोर्चाको हातमा छ । ६० सदस्यीय प्रदेश सभामा एमालेसँग २८ सांसद छन् ।

    कृष्ण थापा बाहेक विपक्षी दलहरुसँग ३१ सांसद छन् । मुख्यमन्त्री गुरुङले २८ जेठभित्र विश्वासको मत लिनुपर्नेछ । २९ वैशाखमा दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री गुरुङले २८ गतेसम्म आफूसँग ३१ सांसदको साथ देखाउन नसकेको खण्डमा प्रदेशमा नयाँ राजनीतिक परिदृश्य देखिन थाल्नेछन् ।

  • १९ जेष्ठ २०७८, बुधबार १८:५२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images