गौतमबुद्ध विमानस्थलको काम साढे तीन प्रतिशत बाँकी, एरोब्रिजसहितको नयाँ टर्मिनल बन्ने
  • CIA Khabar

  • रुपन्देही । रुपन्देहीको भैरहवामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको बाँकी काम सम्पन्न गरी सञ्चालनमा ल्याउन र दोश्रो टर्मिनल भवन निर्माणका लागि बजेटको सुनिश्चित भएपछि आयोजनाले गति लिने भएको छ ।

    आगामी आर्थिक वर्षको बजेटमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आवश्यक बजेट बिनियोजन गरेसँगै विमानस्थल निर्माणको नयाँ अध्याय सुरु भएको हो ।

    आर्थिक वर्ष २०७८/०७९को बजेटमा यो विमानस्थलको बाँकी काम सम्पन्न र नयाँ टर्मिनल भवन निर्माणका लागि ३ अर्ब ५३ करोड रुपैयाँ बिनियोजन भएको छ ।

    निर्माणको अन्तिम चरणमा रहेको विमानस्थललाई बजेटको कुनै समस्या आउन नदिने अर्थमन्त्री पौडेलले पटक–पटक बताउँदै आएका छन् । नयाँ बजेटले विमानस्थलसँगै दोश्रो टर्मिनल भवन पनि छिट्टै बन्ने निश्चित भएको छ ।

    अहिलेको अन्तर्राष्ट्रिय विमानस्थलमा टर्मिनल भवन सानो रहेको र त्यसमा आधुनिक विमानस्थलमा हुने एरोब्रिज सुविधासमेत नरहेकोले दोश्रो टर्मिनल भवन निर्माणको तयारी भइरहेको आयोजना कार्यालयले जानकारी दिएको छ ।

    विमानस्थल आयोजनका प्रमुख इन्जिनियर प्रवेश अधिकारीले बजेट बिनियोजनले काम गर्न थप उत्साह आएको बताए । अहिले कोरोना न्युनीकरणका लागि निषेधाज्ञा लगाइए पनि प्रशासनको अनुमतिमा स्वास्थ्य मापदण्ड अपनाएर कार्यस्थलमै कामदारलाई राखेर काम भएको अधिकारीको भनाइ छ ।

    ‘निषेधाज्ञाले विमानस्थल निर्माणको काम रोकिएको छैन, क्यालिब्रेशन फ्लाइटका लागि विमानस्थल तयारी अवस्थामा छ र अहिले टर्मिनल भवनभित्र फिनिसिङका कामहरु भइरहेका छन् । कन्भेएर बेल्ट जडान सकिएको छ,’ इन्जिनियर अधिकारीले भने, ‘आगामी बजेटमा विमानस्थलको काम सम्पन्न गर्न र नयाँ टर्मिनल भवन निर्माणका लागि बजेट बिनियोजन हुनु निकै राम्रो हो र यसले हामीलाई काम गर्न थप ऊर्जा प्रदान गरेको छ र छिट्टै सक्नुपर्ने दवाव पनि पर्ने भएको छ ।’

    प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलको स्थलगत अवलोकनका क्रममा अहिलेको विमानस्थलको टर्मिनल भवन सानो भएको र नयाँ भवन बनाउनु जरुरी भएको निर्देशन दिएलगत्तै दोश्रो टर्मिनल भवन निर्माणको प्रकृया अघि बढेको र डिजाइनसमेत टुंगो लागिसकेको छ ।

    अब छिटै बोलपत्र आब्हान गर्ने आयोजनाले जनाएको छ । नयाँ टर्मिनल भवन अहिलेको टर्मिनल भवनको पश्चिमतर्फ निर्माण हुनेछ । नयाँ टर्मिनल भवनमा एरो ब्रिजसमेत निर्माण हुने र ६ वटा एरोब्रिज रहने गरी डिजाइन भएको छ । एरोब्रिज भनेको टर्मिनल भवनको प्रस्थान कक्षबाट सिधै जहाजभित्र प्रवेश गर्न मिल्ने गरी बनाइने एक किसिमको आकाशे पुलजस्तै हो । एरोब्रिज सुविधा भएको टर्मिनल भवन नेपालमै पहिलो हुनेछ ।

    दोश्रो टर्मिनल भवन बनेपछि अहिलेको टर्मिनल भवन आन्तरिक टर्मिनल भवनमा परिणत हुनेछ । हालका लागि भने आन्तरिक टर्मिनल भवन पुरानै भवनलाई यथावत गराइने जनाइएको छ ।

    बजेट विनियोजनसँगै व्यवसायीमा उत्साह

    सरकारले आवश्यक बजेट बिनियोजन गरिसकेपछि दोश्रो टर्मिनल भवन निर्माण हुने सुनिश्चित भएको र अहिले निर्माण सम्पन्न हुने क्रममा रहेको विमानस्थलको बाँकी काम र क्यालिब्रेशन फ्लाइटका लागि आवश्यक पहल सरकारबाट छिट्टै हुने विश्वास रहेको सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए ।

    विमानस्थलमा नयाँ भवन निर्माणका लागि बजेट बिनियोजन हुनु सकारात्मक रहेको सोसाइटी अफ टुर एन्ड ट्राभल अर्गनाइजेशन नेपालका उपाध्यक्ष एवम् भैरहवाका पर्यटन व्यवसायी सञ्जय बजिमयले बताए ।

    विमानस्थल निर्माण सम्पन्नताका लागि र नयाँ टर्मिनल भवन निर्माणका लागि बजेट बिनियोजन हुनुले पर्यटन क्षेत्रमा खुसी ल्याएको सिद्धार्थ होटल संघ नेपाल (शान)का अध्यक्ष एवं होटल संघ नेपालका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठ (सिपी)ले बताए ।

    साढे तीन प्रतिशत मात्र काम बाँकी

    विमानस्थल निर्माणको ९६.५ प्रतिशत काम सम्पन्न भएको छ । अहिलेको अवस्था तत्काल सहज हुने हो भने २ महिनामै विमानस्थल तयार हुने आयोजना प्रमुख अधिकारीको दावी छ ।

    यो आयोजनाको अहिलेसम्म ६ पटक म्याद थप भइसकेको छ । पछिल्लोपटक ६ महिनाका लागि फेरि म्याद थपेर आउँदो जुन ३० सम्म पुर्‍याइएको छ । सन् २०१७ भित्रै सक्नेगरी सन् २०१४ देखि निर्माण सुरु भएको आयोजना सुरुमा महाभूकम्प, मधेश आन्दोलन, भारतको नाकाबन्दी तथा ठेकेदार र सह–ठेकेदारबीचको आपसी विवादमा रुमलियो । जसले गर्दा निर्माण सम्पन्न समयावधि भन्दा आयोजना थप ४ वर्ष ढिलाई भइसकेको छ ।

    पछिल्लोपल्ट कोरोनाले नेपाल पनि उच्च जोखिममा परेकाले थाइल्याण्डको विकल्पमा परीक्षणका लागि विमान ल्याउन अन्य मुलुकसँग पनि कुराकानी भइरहेको छ । अब लाइट जडान, फर्निचर, फल सिलिङ, फिनिसिङ र केही उपकरण जडानको काम मात्रै बाँकी छ ।

    दुई चरणमा ठेक्का भएको विमानस्थलको चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसनले ६ अर्ब २२ करोड रुपैयाँमा भौतिक संरचना निर्माणको ठेक्का लिएको छ भने उपकरण जडानको काम भने थाइल्याण्डको एरो थाइ कम्पनीले करिब ५० करोड रुपैयाँमा ठेक्का लिएको छ ।

  • २० जेष्ठ २०७८, बिहीबार १०:०९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images