कर्णाली । नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको झण्डै दुई महिनापछि कांग्रेस सरकारमा जान लागेको हो ।
कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले दुई मन्त्रालयसहित आफ्नो पार्टी सरकारमा जान लागेको बताए । ‘आर्थिक वर्ष २०७८÷७९ को बजेट पनि आउन लागेको छ । सरकारलाई सकारात्मक ढंगले अगाडि बढाउन हामी सरकारमा सहभागी हुनेछौँ,’ उनले भने, ‘महामारीका बेला सरकारका काम प्रभावकारी बनाउन सरकारमा सहभागी हुन लागेका हौं ।
कांग्रेसले सामाजिक विकास मन्त्रालयमा यज्ञबहादुर बीसी र जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा दीनबन्धु श्रेष्ठलाई पठाउने भएको छ । पछिल्लो समय कांग्रेसले सामाजिक विकास मन्त्रालयबाट अलग्याएर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा गाभिएको युवा तथा खेलकुद कार्यक्षेत्रलाई सामाजिकमै ल्याउनुपर्ने शर्त राखेको थियो ।
मुख्यमन्त्री शाही निकट स्रोतले दिएको जानकारी अनुसार कांग्रेस २ जना मन्त्री सरकारमा सहभागी हुने र भोलि (शुक्रबार) थपिएका मन्त्रीको शपथ ग्रहण गराइनेछ ।