रुपन्देही । रुपन्देहीको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा कोरोनाका बिरामीको उपचारमा खटिएका ३५ वर्षीय डा. पशुपति रजौरिया एकदिन आफैं संक्रमित भए । यो अदृश्य शत्रुसामु उनी दिन टिक्न सकेनन् । र, हिजाे उनले अन्तिम सास लिए । सन्तान जन्माउने योजना बुनेर काेराेनाविरुद्धको खोप नलगाएका उनकाे ३५ वर्षे शरीरले काेराेनाविरुद्ध एक महिना संघर्ष गर्याे । तर, कैयाैंको ज्यान बचाएका डाक्टर अन्ततः काेभिडसँगकाे युद्ध हारे । र, अस्ताए सधैंसधैंका लागि ।
भैरहवाकाे युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा डा. रजौरियाले काम थालेकाे एक महिना मात्र हुँदै थियाे । उनले अस्पतालमा काम थाल्दा कोभिडको दोस्रो लहर सुरु भइसकेकाे थियाे । त्यसैले उनी कोभिडका बिरामीहरूको उपचारमा खटिए ।
कोभिड संक्रमण दर दिनानुदिन बढ्दै थियो । फिजिसिएन डा. रजाैरिया बिरामीको उपचारमा दिनरात नभनी खटिए । कैयाैंलाई निको पारेर घर पठाए ।
उनकी श्रीमती डा. हसिना वानु जोखिमको ख्याल गर्दै संक्रमितको उपचारमा खटिन आग्रह गरिरहन्थिन् । डा. वानु सोही अस्पतालमा स्त्रीरोग विशेषज्ञको रूपमा कार्यरत छिन् ।
कोभिडका बिरामीको उपचारमा संलग्न डा. रजाैरियालाई अस्पतालमा आबद्ध भएको एक महिना अर्थात् १५ वैशाखदेखि ज्वरो आउन थाल्यो । लगत्तै रुघाखोकी लाग्याे । ज्वरो र रुघाखोकीले सताएपछि उनी बुटवल हस्पिटलका डा. नन्दु पाठक भएठाउँ पुगे । डा. पाठकले कोभिड हुनसक्ने भएकाले अस्पतालमा चिकित्सकको निगरानीमा उपचार गराउन सुझाव दिए ।
‘उपचारमा यहाँ आउँदा कोभिडका सबै लक्षण देखिएकाले कार्यरत अस्पतालमै बसेर उपचार गर्न सुझाव दिएर पठाएको थिएँ’, फिजिसिएन डा. पाठकले भने ।
त्यसपछि डा. रजाैरियाले कोरोना परीक्षण गराए । नभन्दै १९ वैशाखमा उनको कोभिड रिपोर्ट पोजेटिभ आयो । ‘रिपोर्ट नआउँदै उहाँमा ज्वरो, रुघाखोकी थियो । हामीले अस्पतालमै राखेर उपचार गरेका थियौँ । पछि एक्कासि श्वासप्रश्वासमा समस्या भएपछि अलि बढी आत्तिनुभएको थियो’, शिक्षण अस्पतालका मेडिसिन विभाग प्रमुख डा. सव्दला चौधरी भने ।
१९ वैशाखदेखि अस्पतालमै उपचारत डा. रजाैरियाकाे स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि श्रीमती वानुकै आग्रहमा हेलिकप्टरमार्फत काठमाडौं ग्राण्डी अस्पताल लगिएको थियो । वैशाख अन्तिम साता काठमाडौंमा उपचारका लागि गएका रजाैरिया कहिल्यै नफर्कने गरी हिजो राति अस्ताए ।
‘अस्पतालले एक सरल, भ्रद भलाद्मी, पेसाप्रति इमानदार कर्मठ डाक्टरलाई गुमाएको छ । अस्पतालमा छोटो समय कार्यरत रहेकाले उहाँको व्यक्तिगत जीवनबारे धेरै जान्न पाएनौं । तर, एक इमानदार, जुझारू डाक्टर यो देशले गुमाएको छ’, मेडिसन विभाग प्रमुख डा. चौधरीले भने ।
डा. पशुपतीलाई युसीएमएसमा रहँदा अक्सिजनसहित राखिएको भए पनि ग्राण्डीमा लगेपछि भेन्टिलेटरमै राख्नु परेको उनले बताए । कपिलवस्तुको कृष्णनगर घर भई बुटवलमा बस्दै आएका डा. रजाैरियाले कोभिडका कैयाैं बिरामीलाई निको पारे, तर आफैँचाहिँ कोभिडसँग हारे । ‘हामीले यहाँ उपचारत रहुन्जेल बचाउने हरसम्भव प्रयास गर्याैँ । परिवारकै सल्लाहमा हेलिकप्टरबाट ग्राण्डी लगियो । तर पनि उहाँ बच्नुभएन’, शिक्षण अस्पताल भैरहवाका प्रशासन प्रमुख सुशील गुरुङले भने ।
डा.रजाैरिया श्रीमतीसहित कोरोना पोजेटिभ भए पनि श्रीमती वानुलाई भने कुनै लक्षण नदिएको उनले बताए ।
चिकित्सक संघ लुम्बिनीका महासचिव डा. सन्तोष पोखरेलले कोभिड संक्रमणबाट एक जुझारू डाक्टरलाई गुमाउनुपर्दा सिंगो चिकित्सा क्षेत्र नै दुःखी भएको बताए । ‘काममा लगनशील, मेहनती एक सहकर्मी हामीले गुमायौँ । कोभिडका बिरामीलाई उपचार गरेर निको पार्नुभएका डा. पशुपती कोभिडसँग भने पराजित हुनुभयो’, उनले भने ।
चीतबाट एमडी सकेर आएका डा. पशुपतिले केही समय लुम्बिनी प्रादेशिक अस्पतालमा काम गरेका थिए । त्यसपछि देवदह मेडिकल कलेज हुँदै युसीएमएसमा आइपुगेका थिए उनी । बुवा गुमाइसकेका उनी परिवारका एक्ला छोरा हुन । उनले बुटवलको गोलपार्कमा श्रीमतीसँग बसेर आफ्नै फार्मेसीसमेत सञ्चालन गरेका थिए । डा. पशुपतीले आफ्नै गाउँकी डा. हसिना वानुसँग अन्तरजातीय विवाह गरेका थिए ।
कोभिड खोप लगाएका थिएनन्
डा. रजौरियाले कोभिडविरुद्धको खोप नलाएको अस्पतालको रेकर्ड शाखाले जनाएको छ । श्रीमान्, श्रीमती दुवै जनाले खोप नलगाएको अस्पतालका प्रशासन प्रमुख गुरुङ बताए । उनी निकट साथीभाईका अनुसार सन्तान जन्माउने योजना भएकाले उनले कोभिड खोप नलगाएका हुन ।