नेप्से २९ अंकले बढेको बजारमा १६ अर्बको कारोबार, वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता
  • CIA Khabar

  • काठमाडौं । शेयर बजर परिसूचक नेप्सेमा साताको अन्तिम दिन बिहीबार पनि हरियाली छाएको छ । जसले गर्दा लगानीकर्ता थप उत्साहित बनेका छन् । बिहीबार नेप्से सूचक २९ दशमलव ५५ अंकले बढेर २८५६ दशमलव ६७ अंकमा पुग्यो ।

    नेप्से बढेसँगै हौसिएका लगानीकर्ताका कारण आजको कारोबार पनि उल्लेख्य रूपमा बढ्न पुग्यो । आज एकैदिन बजारमा १६ अर्ब ९० करोड ७० लाख २० हजार २ सय ८६ रुपैयाँको शेयर कारोबार भएको छ ।

    आजको बजारमा कुल २१८ कम्पनीका ३ करोड ४६ लाख ९१ हजार ३१२ कित्ता शेयर १ लाख ५५ हजार ६५५ पटकको कारोबारमा खरिदबिक्री भयो । कारोबार रकम यस साता दुई दिन आक्रामक रूपमा बढ्न पुग्यो ।

    साताको पहिलो दिन आइतबार इतिहासकै उच्च कारोबार भयो । सो दिन १७ अर्ब २ करोड रुपैयाँको कारोबार भएको थियो । त्यस बुधबार सामान्य कारोबार भएको बजारमा अन्तिम दिन बिहीबार पुनः कारोबार रकम बढेको हो ।

    आज कारोबारमा आएका कम्पनीमध्ये ९९ कम्पनीको शेयरमूल्य बढ्न पुग्यो । जसमा माइक्रोफाइनान्स उचालिएका छन् भने वाणिज्य बैंकमा लगानीकर्ता झुम्मिन पुगेका छन् ।

    आज जलविद्युत्‌बाट लगानीकर्ता बैंकिङक्षेत्रमा मोडिएका छन् । जसले गर्दा सर्वाधिक कारोबार बैंकिङ समूहकै भएको हो । जसले गर्दा विकास बैंक, फाइनान्स र होटल समूहको इन्डेक्स साढे ३ प्रतिशतले बढेका छन् । जलविद्युत्‌को सूचक २ प्रतिशतले घट्दा व्यापार, निर्जीवन बीमा र अन्यको सूचक पनि सामान्य अंकले ऋणात्मक बनेको छ ।

    आज लगानीकर्ताले वाणिज्य र विकास बैंकमा मात्र ४ अर्ब ६७ करोड ३६ लाख ६० हजार रुपैयाँको शेयर किनबेच गरे । जबकि, कुल कारोबार १६ अर्ब ९० करोड ७० लाख रुपैयाँको भएको छ । यो समूहमा सबैभन्दा बढी मूल्य सिटिजन्स बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, सिभिल बैंक, सनराइज, बैंक अफ काठमाण्डु र सिद्धार्थ बैंकको बढेको छ ।

    त्यस्तै, सबैभन्दा बढी शेयर किनबेच सिभिल, मेगा, सिटिजन्स बैंकमा भएको थियो । आज कुमारी, ग्लोबल आईएमई र सेञ्चुरी बैंकमा पनि लगानीकर्ताको चाप थियो ।

    कारोबारमा अग्रस्थानमा बैंकिङ समूह आए पनि सर्वाधिक शेयरमूल्य बढाउनेमा लघुवित्त नै अगाडि आएका छन् । आज मञ्जुश्री फाइनान्स र महिला लघुवित्तको १० प्रतिशतले शेयरमूल्य बढेर सकारात्म सर्किट लागेको छ भने गुराँस फाइनान्स र ग्रिन डेभलपमेन्ट सर्किट लेबलमा छन् ।

    समूहको हिसाबले बैंकिङ समूहको कारोबार रकम धेरै भए पनि कम्पनीगत रूपमा आजको सर्वाधिक कारोबार भने नेपाल पुनर्बीमा कम्पनीको भएको छ । सो कम्पनीको १ अर्ब २ करोड ७० लाख रुपैयाँको शेयर खरीदबिक्री भएको हो । त्यस्तै, छिमेक लघुवित्तको ६८ करोड १६ लाख  निफ्रा, शिवम् सिमेन्टस्, सानिमा माइ हाइड्रोपावरलगायतको पनि कारोबार उल्लेख्य हुन पुग्यो ।

  • २० जेष्ठ २०७८, बिहीबार १७:०२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images