जातीय भेदभाव विरुद्ध जुट्न राष्ट्रपति भण्डारीको आह्वान
  • CIA Khabar

  • काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले जातीय भेदभाव तथा छुवाछुत प्रथा विरुद्ध दृढतापूर्वक क्रियाशील हुन आह्वान गर्नुभएको छ । छुवाछुत विरुद्धको राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमाविरुद्धको अपराध भएको बताउनुभएको छ ।

    राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमार्फत सबैमा सद्भावको विकास गर्न तथा सबै जातजाति र समुदायबीच आपसी एकता, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गर्न दिवसले अभिप्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ । यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विना भेदभाव सम्मानित जीवनयापन गर्ने वातावरण तयार गर्न आवश्यक सबै कानुनहरु निर्माण गरिसकेको बताउनुभएको छ ।

    २०६३ साल जेठ २१ गते देशलाई जातीय छुवाछुतमुक्त राष्ट्र घोषणा गरिएको अवसरमा हरेक वर्ष जेठ २१ गते जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका रूपमा मनाउने गरिन्छ  । नेपालको संविधान तथा कानुनी व्यवस्थाले जातीय आधारमा हुने सबै प्रकारका विभेद, बहिष्करण, वञ्चितीकरण र हिंसालाई अपराधका रूपमा लिँदै त्यसलाई निषेध गरेको छ ।

    संविधानको प्रस्तावनामा वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गर्ने कुराको सुनिश्चित गर्दै मौलिक हकअन्तर्गत समानताको हक, छुवाछुत तथा भेदभाव विरुद्धको हक र दलितको हकको व्यवस्था गरिएको छ । तर समाजमा रहेको सोच, चेतनास्तरका कारणले व्यवहारमा जातीय भेदभाव तथा छुवाछुत प्रथाको पूर्ण अन्त्य हुन सकेको छैन ।

  • २१ जेष्ठ २०७८, शुक्रबार १०:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images