काठमाडौँ। सरकारमा सहभागी नयाँ मन्त्रीहरूको शपथ राति आठ बजे हुने भएको छ । नयाँ मन्त्रीहरूलाई राति आठ बजे शपथ गराउने तयारी गरिएको राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीका महन्थ ठाकुर समूहलाई समावेश गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा दुई राज्यमन्त्रीसहित१० जना नेता सरकारमा जाने भएका हुन् । नेता शरतसिंह भण्डारी, अनिल झाले, विमल श्रीवास्तव, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, एकवाल मिया र उमाशंकर अरगरिया सरकारमा जाँदै छन् । यस्तै, रेनुका गुरुङ र चन्द्रकान्त चौधरी राज्यमन्त्री बन्दै छन् ।
यता एमालेका चार जनाबाहेक सबैलाई ओलीले हटाएका छन् । अर्थमन्त्री विष्णु पौडेल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ र कानुनमन्त्री लीलानथ श्रेष्ठबाहेक अरु सबैलाई ओलीले जिम्मेवारीबाट हटाएका छन् ।
ओलीले एमालेका रघुवीर महासेठ, शेरबहादुर तामाङलाई मन्त्रिपरिषद्मा समावेश गर्ने भएका छन् । ओलीले वन मन्त्री प्रेम आले, भूमि व्यवस्था तथा सहकारीमन्त्री शिवमाया तुम्बाहाम्फे र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुली महतोले सम्हालेका मन्त्रालय जसपालाई दिँदै उनीहरूलाई विदाइ गरेका छन् ।