काठमाडौँ। राजेन्द्र महतोको अभिव्यक्तिको विरोधमा उत्रिएका एमाले माधव नेपाल समूहका विद्यार्थी नेताहरूलाई प्रहरी पक्राउ परेको छ । उपप्रधान तथा शहरी विकासमन्त्री नियुक्तलगत्तै दिएको अभिव्यक्तिको विरोधमा उत्रिएका ८ जना विद्यार्थी नेतालाई काठमाडौं बानेश्वरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका आफूसहित ८ जनालाई पुलिस क्लबमा लैजान लागिएको विद्यार्थी नेता टपेन्द्र शाहीले जानकारी दिए । महतोको अभिव्यक्तिको विरोध गर्दै पुतला दहन गर्न लाग्दा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । महतोले मन्त्रीको शपथग्रहणलगत्तै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन चलाइरहेको बताएका थिए । उक्त अभिव्यक्तिविरुद्ध नेकपाकै नेताहरूले विरोध जनाइरहेका छन् ।