पोखरा । सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ५०.१३ अंकले बढेर २९०६.८९ विन्दुमा पुगेको हो । यो हालसम्मकै उच्च विन्दु हो ।
नेप्सेका अनुसार आज ठूला ‘क’ वर्गका कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ७.८३ अंकले बढेर ५२०.९९ विन्दुमा पुगेको छ । यस दिन कुल २१८ कम्पनीका ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ता सेयर १ लाख ७१ ह्जार ६० पटक किनबेच हुँदा कुल १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५२५ रुपैयाँको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज बैंकिङ, विकास बैंक, फाइनान्स, माइक्रो फाइनान्स, म्युचुअल फन्ड, लगानी लगायतका समूहहरु धनात्मक भएका छन् भने यता होटल तथा टुरिजम, व्यापार, हाइड्रोपावर, निर्जीवन बीमा, उत्पादनका क्षेत्रहरु ऋणात्मक भएका छन् ।