जेम्स रोड्रिग्वेजलाई टोलीबाट हटाइएपछि चलेको चर्चा सेलाएको छैन । तर, उनको देश कोलोम्बियाले विश्वकप छनोटमा पेरु विरुद्ध प्रतिस्पर्धा गरिरहेका बेला मियामीमा पार्टी गरेपछि अहिले रोड्रिग्वेज आलोचित बनेका छन् ।
मियामीस्थित नाइट क्लबमा रोड्रिग्वेजले पार्टी मनाइरहेको भिडियो अहिले सामाजिक सञ्जालमा फैलिएको छ । जुन समय रोड्रिग्वेज पार्टी गरिरहेका थिए, त्यही समय कोलम्बिया र पेरुबीच प्रतिस्पर्धा चलिरहेको थियो ।
धेरै फ्यानका लागि यो स्वीकार्य भएन । उनीहरु रोड्रिग्वेजले देशको खेल हेर्नुपर्ने तर्क सामाजिक सञ्जालमा गरिरहेका छन् । केही भने रोड्रिग्वेज पक्षमा छन् प्रशिक्षकले छनोट नगरेकाले उनी टोली बाहिरै छन् र आफुलाई मन पर्ने शैलीमा बिदा मनाउन पाउँछन् भन्ने उनीहरुको तर्क छ । २९ वर्षीय रोड्रिग्वेजले कोलम्बियाका लागि ८० खेलमा २३ गोल गरेका छन् ।