जनकपुरधाम । प्रदेश २ को बजेट अधिवेशन आज सुरु हुँदैछ । पदेश प्रमुख राजेश अहिराजले पाँचौं अधिवेशनको अन्त्य गरी छैठौं अर्थात् बजेट अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेशसभा सचिवालयले आज १ बजे बैठक डाकेका छन् । बैठकमा नवनियुक्त दलका नेतालाई शुभकामना र प्रि-बजेट छलफल हुने कार्यसूची छ ।
प्रदेशमा जनता समाजवादी पार्टीको सरकार छ । पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्ष संघीय सरकारमा सहभागी भएपछि अर्का अध्यक्ष उपेन्द्र यादवले आइतबार दिउँसो मुख्यमन्त्री लालबाबु राउतलाई प्रदेश संसदीय दलका नेता चयन गरेका छन् ।
उनले विधान समेत बहुमत संसद्को हस्ताक्षरसहित पारित गरेका छन् । आइतबार राति नै राउतले ठाकुर पक्षका मन्त्री जितेन्द्र सोनल र तीन राज्यमन्त्रीलाई बर्खास्त पनि गरेका छन् ।
ठाकुर पक्षका चार मन्त्रीलाई बर्खास्त गरिएका कारण उनी पक्षीय सांसदले प्रदेशसभा बैठक अवरुद्ध पार्ने सम्भावना छ । प्रदेश सरकार जेठ २७ मा नीति तथा कार्यक्रम र अगामी असार १ मा बजेट ल्याउने तयारीमा जुटेको छ ।