काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान अनुसार संसद विघटन नभएकाले पुन:स्थापना हुने विश्वास व्यक्त गरेका छन् ।
मंगलबार तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अदालतले अन्ततः हेर्ने संविधान हो । संविधान अनुसार संसद विघटन भएको छैन ।’
उनले गत पुस ५ गते भएको संसद विघटन सर्वोच्च अदालतबाट पुन:स्थापित भएको स्मरण गर्दै भने, ‘त्यतिबेला पनि मैले हामी जिउँदै छौं भनेका थियौं, अहिले त झन् नांगो रुपमा संसद विघटन गरिएको छ, त्यसकारण सर्वोच्चबाट संसद पुनर्स्थापना हुन्छ ।
प्रधानमन्त्री केपी ओलीले पुस ५ गते संसद विघटन गर्दा नेपाली कांग्रेसले ढुलमुले चरित्र देखाएको उल्लेख गर्दै प्रचण्डले अहिले भने कांग्रेस दोधारमा नरहेको बताए ।
संविधान निर्माणका बेला संविधानसभामा माओवादीले राखेको ‘नोट अफ डिसेन्ट’लाई जनताको बीचमा लैजान नेता कार्यकर्तालाई उनले आग्रह गरे ।