छेपारो हैरान छ आजकल, मानिसको रङ देखेर
घाऊ लुकाउनु नै बेस, जो कोही हिँड्छन नुन बोकेर।
स्वाभिमान गुमाएर बाँच्छ मान्छे, छि के जिन्दगी
नाफा कमाउनमै मग्न छन् यहाँ, आफैंलाई बेचेर।
सोच्छ आफूलाई चाणक्य, बोक्छ बगलिमा छुरा
काखमै राखी रेट्छ गला, सोध्छ फेरी दुख्यो भनेर।
कुमालेको चक्र, नबुझिने दुनियाँका यी गणितहरु
मान्छे भने रहिरहन्छन् सधैं, प्यार बनेर याद बनेर।
स्वार्थ र चाकडीको पराकास्टा, भन्छ म त आगो हुँ,
छक्क पर्छ ‘सुदन’, अन्तमा आगोले नै पोलेको देखेर।