काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चुरेको सहारा लिएर विपक्षी दलहरूले राजनीति गरेको आरोप लगाएका छन् ।
बुधबार बिहान नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले ढुंगा, गिट्टी र बालुवाको निर्यात गर्ने नीति कति जायज विषयक अन्तर्क्रियामा अर्थमन्त्री पौडेलले प्रतिपक्षी दलहरूले चुरेको सहारा लिएर राजनीति गरिरहेको आरोप लगाएका हुन् ।
‘चुरे संरक्षणको महत्व सरकारलाई राम्रोसँग थाहा छ,’ उनले भने, ‘चुरेको सहारा लिएर राजनीति नगर्नुस्, राजनीति गर्न अरु धेरै विषय छन् ।’
उनले चुरेबाट एक डोको बालुवा पनि सरकारले निकाल्न नदिने बताए । ‘बजेट वक्तव्यको १९९ नम्बर बुँदा राम्रोसँग पढ्न म आग्रह गर्छु,’ उनले भने, ‘बजेटमा चुरे उत्खननको विषय समेटिएको छैन ।’
उनले चुरेको दोहन रोक्न वैकल्पिक उपायबाट वातावरणीय प्रभाव अध्ययनपछि उपयुक्त ठाउँमा मात्रै उत्खनन गरिने बताए ।