गण्डकीका विपक्षी दलले प्रदेश प्रमुखलाई भने, ‘कीर्ते वक्तव्य आउनसक्छ, ध्यान पुर्‍याइदिनुहोला’
  • CIA Khabar

  • काठमाडौं ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बिहीबार विश्वासको मत लिँदै छन् । सरकार बनाउन तेस्रो प्रयास गरिरहेका विपक्षी गठबन्धनले मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि प्रदेश प्रमुखलाई भेटेका छन् ।

    बुधबार बिहान प्रदेश प्रमुखको निवासमा पुगेका चारवटै दल नेता, सचेतक र सांसदले प्रदेश प्रमुख सीताकुमारी पौडेलसँग भेट गरेका हुन् । अहिले उपधारा ५ अनुसार सरकार बनाउँदा पुरानै ‘किर्ते घटना’ दोहोरिन सक्ने भन्दै विपक्षी गठबन्धनले प्रदेश प्रमुखको ध्यानाकर्षण गराएका हुन् ।

    ‘भोलि मुख्यमन्त्रीले विश्वासको मत लिन सक्नु भए ठीक छ, राम्रो छ । नभए हामी १६८ (५) मा जानपर्‍यो,’ एक विपक्षी सांसदले  भने, ‘पहिला चार दलको समर्थन छ, हाम्रो प्रतिनिधिलाई शपथ खुवाउन पर्‍यो भन्दा कीर्ते वक्तव्य आयो । फेरि त्यस्तै भयो भने प्रदेश प्रमुखजस्तो संवैधानिक निकायमा बस्नुभएकाले त्यस्तोमा ध्यान पुर्‍याइदिनुहोला भन्यौँ ।’

    गत २९ जेठमा विपक्षी गठबन्धनले संविधानको धारा १६८ (२) अनुसार सरकार बनाउन प्रयास गरेका थिए । तर, जसको समर्थन छ भनेर विपक्षी दल पुगेका थिए उनै सांसदको नाममा तटस्थ रहेको वक्तव्य आयो ।

    विपक्षी गठबन्धनले मुख्यमन्त्रीमा दाबी गर्दा आफू तटस्थ रहेको भनेर जनमोर्चा सांसद कृष्ण थापा र खिमविक्रम शाहीको नाममा वक्तव्य सार्वजनिक भयो । आफू तटस्थ रहेको भनेर निकालिएको विज्ञप्ति कीर्ते गरिएको जनमोर्चा सांसद खिमविक्रम शाहीले स्पष्टीकरण दिए ।

    दुई सांसदको पत्र आएको र विपक्षीसँग बहुमत नदेखिएको भन्दै प्रदेश प्रमुखले उपधारा ३ अनुसार ठूलो दलका नेता पृथ्वीसुब्बालाई मुख्यमन्त्री बनाइन् । मुख्यमन्त्री बनेको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले बिहीबार संसदबाट विश्वासको मत लिन लागेका हुन् ।

    आजको भेटमा प्रदेश प्रमुख पौडेलले संविधान मिचेर कुनै काम नगर्ने बताएको ती सांसदले बताए । ‘म संविधानलाई मिचेर कुनै काम गर्दिनँ । आफ्नो जिम्मेवारीप्रति म प्रतिबद्ध छु भन्नुभयो,’ उनले भने, ‘अरु केही भन्नुभएन । पाँच मिनेट समय मागेका थियौँ । आफ्ना कुरा राखेर फर्कियौँ।

  • २६ जेष्ठ २०७८, बुधबार १५:०४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images