गण्डकीका मुख्यमन्त्री गुरूङले आज विश्वासको मत लिँदै, मनाङेले पनि छाडे साथ
  • CIA Khabar

  • पोखरा।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज विश्वासको मतका लागि प्रस्ताव राख्दैछन् ।

    मुख्यमन्त्री गुरुङले शपथ लिएको आज जेठ २७ मा एक महिना पुगेकाले आजै उनले विश्वासको मतका लागि प्रस्ताव राख्न लागेका हुन् । यसका लागि प्रदेशसभाको बैठक मध्याह्न १२ बजेलाई डाकिएको छ ।

    मनाङेले छाडे साथ

    प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले सत्ता पक्षको साथ छाडेका छन् ।

    योसँगै मुख्यमन्त्री गुरूङलाई  विश्वासको मत प्राप्त नहुने सम्भावना बढेको छ ।  मनाङेलाई आफ्नो पक्षमा राखिरहन १६ वैशाखमा मुख्यमन्त्री गुरुङले मन्त्री बनाएका थिए । संविधानको धारा १६८(३) अनुसार फेरि मुख्यमन्त्री नियुक्त भएपछि पनि मुख्यमन्त्री गुरुङले उनलाई दोहोर्‍याएका थिए ।

    तर मनाङे अन्तिमसमयमा मुख्यमन्त्री गुरूङकै विपक्षमा उभिएका छन् । बुधबार मन्त्रिपरिषदको बैठकमा अनुपस्थित भएका मनाङेले प्रदेशसभा विघटन हुनबाट रोक्न विपक्षी गठबन्धनमा लागेको जनाएका छन् ।

    विपक्षीलाई राहत

    मनाङेले कित्ता परिवर्तन गरेसँगै अविश्वासको प्रस्तावबाट गुरुङ नेतृत्वको सरकार ढाल्न कस्सिएको कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धनलाई राहत मिलेको छ ।

    यसअघि राष्ट्रिय जनमोर्चाको संसदीय दलका नेता कृष्ण थापा र अर्का सांसद खिमविक्रम शाहीका कारण मुख्यमन्त्री हटाउन असफल भएको गठबन्धन अब भने आफ्नो पक्षमा बहुमत पुग्नेमा विश्वस्त देखिएको छ । विपक्षी गठबन्धनले कांग्रेस संसदीय दलको नेता कृष्णचन्द्र पोखरेललाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको छ ।

    गत वैशाख १३ गते शुरू भएको विशेष अधिवेशनमा अविश्वास प्रस्तावमाथि मतदान हुने बेलामा जनमोर्चाका सांसद शाही एकाएक बेपत्ता भएपछि बैठक स्थगित गरिएको थियो । पछि शाही पोखराको चरक अस्पतालको आइसीयू कक्षमा भेटिएका थिए ।

    विशेष अधिवेशन स्थगन भएकै अवधिमा प्रदेश प्रमुख रहेका माओवादी नेता अमिक शेरचनलाई पदमुक्त गर्दै सीता पौडेल प्रमुख नियुक्त नियुक्त गरिएकी थिइन् । अविश्वास प्रस्तावमाथि फेरि वैशाख २७ मा मतदान हुने तयारी गर्दा मुख्यमन्त्री गुरुङले वैशाख २६ गते नै राजीनामा दिएका थिए ।

    गुरुङको राजीनामापछि जनमोर्चाका अर्का सांसद कृष्ण थापाले विपक्षी गठबन्धनलाई सघाउने पार्टी निर्णय अस्वीकार गरेपछि दोस्रो प्रयास पनि असफल भएको थियो । विपक्षी गठबन्धनले बहुमत सिद्ध गर्न नसक्दा ठूलो दलको हैसियतमा गुरुङ दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए ।

    ६० सदस्यीय गण्डकी प्रदेशमा बहुमतका लागि ३१ मत चाहिन्छ । सत्तारूढ नेकपा एमालेसँग २७ मत छ । मनाङेले विपक्षी गठबन्धनले साथ छोडे पनि जनमोर्चाका कृष्ण थापाले साथ दिँदा मुख्यमन्त्रीको पक्षमा २८भन्दा बढी मत पुग्ने सम्भावना देखिएको छैन ।

    कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जसपाका २ र राष्ट्रिय जनमोर्चाका ३ सांसद गरी कुल ३२ सांसद छन् । तर त्यसमध्ये एक जना सभामुख र जनमोर्चाका सांसद कृष्ण थापाले ह्वीप उल्लंघन गर्ने बताएका विपक्षीको पक्षमा ३० सांसद छन् ।

  • २७ जेष्ठ २०७८, बिहीबार ०९:३७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images