रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वस्थ्यकर्मीले सरकारले घोषणा गरेको कोरोना जोखिम बापतको भत्ता नपाएको गुनासो गरेका छन् । सरकारले तोकेको जोखिम बापतको भत्ता एक बर्ष अघि देखिकै नपाएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं १ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीले आफुहरुले पाउनु पर्ने जोखिम बापतको सुबिधा एक बर्ष अघि देखि कै नपाएको बताएका छन ।कोभिड १९ सुरु भए देखी आफुहरुले सामान्य बिरामीका साथै कोरोनका बिरामीहरुको पनि सेवा गरिरहेको तर जोखिम बापतको सुबिधा नपाएको प्राथमिक स्वास्थ्य केन्द्र मन्थली निमित्त कार्यालय प्रमुख डाक्टर नबराज श्रेष्ठ बताउछन् ।
रामेछाप जिल्लाका अन्य पालिकाले पालिका भित्र कार्यरत स्वास्थ्यकर्मीहरुलाई सरकारले तोकेको सुबिधा भन्दा पनि थप गरेर दिएको तर मन्थली नगरपालिकाले सरकारले तोकेको जति पनि नदिनेको स्वास्थकर्मी बताउछन् । घरपरिवार र आफ्नो ज्यानको प्रबाह नगरी बिरामीको सेवा गर्दा पनि सुबिधा नपाउदा काम गर्ने जोश जागर हराएको श्रेष्ठ बताउँछन् ।
यस्तै अस्पताल ब्यबस्थापन समितिले पनि नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीलाई प्रोत्साहन गर्न नसकेको र बेवास्ता गरेको आरोप लगाएका छन् ।नगरपालिकालाई पटक पटक आग्रह गर्दा पनि आश्वासन मात्र दिएको तर वास्ता नगरेकोप्राथमिक स्वास्थ केन्द्र मन्थलीब्यबस्थापन समितिका उपाध्यक्षबिरेन्द्र श्रेष्ठलेबताए ।
मन्थली नगरपालिकाले भने स्वास्थ्यकर्मीले बाह्रै महिनाको जोखिम भत्ता दाबी गरेकाले त्यो दिन नसकिने बताएको छ । माहामारी अवधिको सुबिधा उपलब्ध गराएको पनि मन्थली नगरपालिकाले जनाएको छ । जोखिमको समयमा स्वास्थ्यकर्मीले विभिन्न बाहाना बनाउँदै बखेडा झिकेर नागरिकको स्वास्थ्य सगं खेलबाड गरेको मन्थली नगरपालिकाका नगर प्रमुख रमेशकुमार बस्नेतले बताएका छन् ।
मन्थली नगरपालिका भित्र एउटा आयुर्वेदिक कार्यालय सहित २४ वटा स्वस्थ्य संस्था रहेका छन् भने तीन जना विद्यालय नर्स सहित १ सय २७ जना स्वस्थ्यकर्मी कार्यरत रहेकाछन् ।