• CIA Khabar

  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) खारेज भई एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि उत्पन्न राजनीतिक उथल–पुथलको पराकम्प जारी छ । यसक्रममा केन्द्रीय राजनीतिबाट निराश बन्न पुगेको माओवादीलाई प्रदेशले भने राहत दिन थालेको छ ।

    गत फागुन २३ गते सर्वोच्च अदालतले नाम विवादमा नेकपाको एकता खारेजीको फैसला सुनाएपछि सिंहदरबारदेखि प्रदेशसम्म नेकपाभित्र विभाजन आएको थियो । यसको प्रभावस्वरुप माओवादी केन्द्र सत्ताविहीन हुने अनुमान थियोे । गत आम निर्वाचनमा एमालेसँग गठबन्धन गरी सिंहदरबारदेखि ६ वटा प्रदेशमा सत्ताभोग गरिरहेको माओवादीको संसदीय गणितले पनि त्यही देखाउँथ्यो ।

     

    माओवादीले सरकारको नेतृत्व गरेका कर्णाली र सुदूरपश्चिम प्रदेशमा एमालेको समर्थनबिना सरकारको निरन्तरता सम्भव थिएन । तर, प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गरेको एमालेलाई माओवादीको साथ अनिवार्य थिएन । प्रदेश १ र बागमतीमा एमालेको एकल बहुमत थियो । केन्द्रमा पनि जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षसँग प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको हिमचिम राम्रै थियो ।

    एमालेका १२१ सांसदमा जसपाको ठाकुर– महतो पक्षका २० जना मात्र सांसदले साथ दिँदा आफू अनुकुल मुलुकलाई डोर्याउन सकिने ओलीको बुझाइ प्रस्टै थियो ।

    उक्त परिदृश्यबाट उत्साहित हुँदै नेकपा खारेजीमा ओली पक्षले दिपावली बनायो । साथै ओली समूहले तत्कालीन नेकपामा प्रचण्डसँगको मोर्चाबन्दीमा सामेल एमालेकै झलनाथ खनाल – माधव नेपाल पक्षको अस्तित्वमाथि धावा बोल्यो ।

    एमालेको बलशाली अध्यक्ष र माओवादीका ‘२३ भाइ’ को साथ पाएपछि ओलीले खनाल–नेपाल पक्षलाई आत्मसमर्पणको बाटोबाट एमालेमा ढोका खोले । त्यो बाटो खनाल–नेपाल पक्षलाई मन्जुर भएन । अनि एमालेमा विद्रोह सुरु भयो । ओली पक्षको कारबाही र खनाल–नेपाल पक्षको समनान्तर गतिविधिको अध्याय सुरु भयो । ओली उन्मादको बोध गर्न खनाल–नेपाल पक्ष हात धोएर लाग्यो ।

    जसबाट शक्तिशाली नेकपाको कार्यकारी अध्यक्षबाट चोइटिएको (२३ भाइ ओलीतिर) माओवादीको अध्यक्षमा झर्नुपर्दा रन्थनिएका पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राहत मिल्यो ।

    खनाल–नेपाल पक्षले एमालेभित्र अन्तरसंघर्षको नीति लिए पनि माओवादीसँगको उठबस कामय रह्यो । यहीबीचमा बैशाख ३ गते महेन्द्रबहादुर शाही नेतृत्वको सरकारले कर्णाली प्रदेशसभामा विश्वासको मत लियो ।

     

    काँग्रेसको साथ र खनाल–नेपाल पक्षले फ्लोर क्रस गरी आवश्यक मत दिएपछि शाही सरकार जोगियो । माओवादीलाई सत्ताविहीन बनाउने ओली पक्षको रणनीति विफल बनाउन खनाल–नेपाल पक्ष पार्टी ह्वीप उल्लंघन गरी कारबाही भोग्न तयार भयो ।

    केन्द्रमा पनि ओलीको बहिर्गमनको लागि खनाल–नेपाल पक्ष प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा अगाडि बढाउने प्रस्तावमा सहमति जनायो । ओली बहिर्गमनलाई एकसुत्रीय एजेण्डा बनाएका प्रचण्डलाई त्यसले पनि राहत दियो ।

    किनभने आफ्ना कार्यकर्तालाई माधव नेपालसँगको सहकार्य पार्टी ब्यूँतिएपछि पनि जारी छ भन्ने देश दिनु थियो । चोइटिएको माओवादीमा भविष्य नदेखेर कार्यकर्ता एमालेतिर लाग्ने प्रचण्डमा चिन्ता थियो ।

    ०६४ को ‘भीमकाय’ माओवादी फुट्दै र चोइटिँदै गएपछि निरास बनेका कार्यकर्तामा माधव नेपालसँग सहकार्यबाट ९एकता वा कार्यगत एकता० उत्साह भर्ने प्रचण्डको प्रयास थियो र छ ।

     

    खनाल–नेपाल पक्ष र माओवादी एक ठाउँमा उभिएर अगाडि बढ्ने परिस्थिति हुँदा ओलीको एमालेभन्दा शक्तिशाली हुने प्रचण्डले कार्यकर्तालाई बताउँदै आएको पाइन्छ । त्यसलाई प्रदेशको सत्ता समीकरणले पुष्टि गर्दै गएको छ ।

    जेष्ठ २५ गते सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिँदा पनि खनाल– नेपाल पक्षका सांसदले साथ दिए । पार्टी निर्देशन अवज्ञा गरी एमालेका १७ सांसदको समर्थनमा माओवादीको सरकार जोगिएको छ ।

    एमाले र माओवादी ब्यूतिँदा सबैभन्दा जोखिममा परेका कर्णाली र सुदूरपश्चिम सरकारलाई एमालेको खनाल–नेपाल पक्षले काँध हाली दिएको छ । यो परिघटनाले माओवादीमा उत्साह थपेको छ भने ओली पक्षका ४ मुख्यमन्त्रीमाथि थ्रेट बढेको छ । प्रदेश १ र बागमती सरकारको नीति तथा कार्यक्रमसमेत पारित हुने नहुने नेपाल पक्षको हातमा छ ।

    खनाल–नेपाल पक्षले सरकारको विकल्प खोजे ओली पक्षीय शेरधन राई र डोरमणि पौडेल नेतृत्वको सरकार ढल्ने निश्चित जस्तै छ ।

    गण्डकीमा एमाले एक्लिएपछि पृथ्वीसुब्बा गुरुङ जोगाउन असफल भएका छन् । विहीबार विश्वासको मत लिएका उनले बहुमत सिद्ध गर्न विफल भए ।

    उता, लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहेको देखिएको छ । नेपाल पक्षमा दुई जना सांसदको राजीनामा र तत्कालीन नेकपाबाट निर्वाचित बिमला वलीले माओवादी केन्द्र रोजेपछि पोखरेल सरकारको आयुको पनि कुनै टुंगो छैन ।

    माओवादी नेतृ एवं पूर्वसभामुख ओनसरी घर्तीले माओवादीको सरकार जोगिएर एमाले सरकार ढल्ने परिस्थिति आउनुलाई व्यवस्थाको जीतसँग जोडेकी छन् । उनले रातोपाटीसँग भनिन्, ‘वर्तमान व्यवस्था बचाउने अभियान अन्तरगत नै माओवादी केन्द्रले नेतृत्व गरेका प्रदेश सरकार जोगिएका हुन् । हामी सत्य र न्यायको पक्षको मोर्चाबन्दीमा छौं । देशले जितिरहेका छ । देश जित्दा हाम्रो पार्टीले पनि जित्ने नै भयो ।’

    यस्तै, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि संविधान, लोकतन्त्रको रक्षा र प्रतिगमनलाई परास्त पार्ने मोर्चाबन्दीको प्रक्रियामा नै माओवादी नेतृत्वका सरकार जोगिएका बताए ।

    ‘नेपालमा अहिले केपी ओलीको नेतृत्वमा प्रतिगमनको प्रक्रिया अगाडि बढिरहेको छ,’ श्रेष्ठ भन्छन्, ‘केन्द्र र प्रदेशहरुमा संविधान, लोकतन्त्रको रक्षा र प्रतिगमनलाई परास्त पार्ने मोर्चाबन्दीको प्रक्रियामा नै माओवादी नेतृत्वको सरकार जोगिएका हुन् । हामी यसलाई सुदृढ गर्दै जान्छौं ।’

    श्रेष्ठले कर्णाली र सुदूरपश्चिम प्रदेशमा सरकार जोगिनु माओवादीको पार्टीगत लाभको कुरा मात्र नभएको बताए । यसबाट नेपालको कम्युनिस्ट आन्दोलन एकीकरण गरी नेपालमा एउटै कम्युनिस्ट केन्द्र बनाउने उद्देश्यमा बल पुग्ने श्रेष्ठको भनाइ छ ।

     

    ‘हिजो नेकपा बचाउने हाम्रो उद्देश्य थियो । तर नबचेको अवस्थामा माओवादी केन्द्र अगाडि बढाउनु नै पर्यो,’ उनी भन्छन्, ‘अहिलेको हाम्रो कार्यभार माओवादी केन्द्रकै तर्फबाट नेतृत्व गर्दै फेरि पुनर्गगठन गरी अगाडि बढ्छौं । अहिले केपीले नेतृत्व गरेको एमालेसँग सम्भव छैन । अरु सल्लाह गर्दै जानुपर्छ ।’

    अहिले पनि आफूहरु सुदृढ क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्ने प्रयासमा रहेको श्रेष्ठले बताए ।

    ओसरी घर्तीले पनि पछिल्लो परिदृष्यबाट एमालेको खनाल–नेपाल पक्ष आफूहरुसँगै रहेको प्रस्ट भएको बताइन् । उनले भनिन्, ‘एमालेमा हिजोको लिगेसी बोकेका ठूला–ठूला नेताहरुले आज अडान लिएर यो गरिराख्नुभएको छ । केन्द्रको मोर्चाबन्दी र कर्णाली–सुदूूूरपश्चिमसम्म आउँदा हामी एउटै ठाउँमा रहन्छौं भन्ने प्रस्टै भयो ।’

    यद्यपि एकै ठाउँमा रहने भनेको पार्टी एकता मात्र नभएको उनको तर्क छ । घर्तीले भनिन्, ‘मोर्चा हुनसक्छ, गठबन्धन हुनसक्छ, भोलिका दिनमा ठूलो सिंगो पार्टी पनि बनाउन सक्छौं ।’

    पूर्वसभामुख घर्तीले माओवादी सिध्याउन लागिपरेका केपी ओली आफैं सिद्धिने परिस्थिति बन्दै गएको बताइन् । ‘केपी ओलीले माओवादी पार्टीलाई न सिध्याएर, अध्यक्ष प्रचण्डलाई नसिध्याएर वर्तमान व्यवस्था सिध्याउन सम्भव छैन भन्ने बुझ्नुभएको छ । केपी ओलीले हामीलाई सिध्याउन खोज्नुभएको थियो । आफू सिद्धिनुभयो,’ उनले भनिन् ।

    अब ताजा जनादेशमा जाँदा ओली त्यहीँ सिद्धिने उनको भनाइ छ । ‘अहिले हामीले यसोभन्दा पूर्वाग्रह राख्यो कि भन्ने हुन्छ होला । तर, हेर्दै जानुहोला, हामीलाई सिध्याएको होइन कि उहाँ सिद्धिनुभयो ।’

    पछिल्लो समय ओली पक्षमा लागेका सबै ठाउँका कार्यकर्ताहरु माओवादीमा फर्किराखेको उनले सुनाइन् । ‘नियतबस ओलीसँग भएका नेताहरुको कुरा गर्न चाहन्नँ । कार्यकर्ताप्रति हामीले त्यसरी पूर्वाग्रह राख्नुहुँदैन । सबै ठाउँमा कार्यकर्ताहरु माओवादीमा फर्किराख्नुभएको छ,’ उनी भन्छिन् ‘विस्तारै हामी ०६४ को अवस्थामा रिभाइभ हुनेछौं । पार्टीभित्रै विस्तार भविश्य देख्ने परिस्थिति बन्दै गएको छ ।’

    पूर्वसभामुख घर्तीका अनुसार ओलीले पद प्रतिष्ठाको र भौतिक सुविधाको लोभ देखाए पनि कार्यकर्ताको तहमा माओवादी हल्लिएको छैन । उनले भनिन्, ‘अस्तिसम्म पद प्रतिष्ठाको लोभ, भौतिक सुविधा दिएर माओवादी कार्यकर्ता केपी ओलीले सोहोर्छन् कि भन्नेजस्तो थियो । केही नेता नै गए । तर, कार्यकर्ताको तहमा माओवादी हल्लिएको छैन ।’

  • २८ जेष्ठ २०७८, शुक्रबार १४:४८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images