महाधिवेशनबारे निर्णय लिन सभापति देउवाले बोलाए बैठक
  • CIA Khabar

  • काठमाडौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएको छ । सभापति देउवाले शनिबार दिउँसो २ बजेका लागि आफ्नो बूढानीलकण्ठमा बैठक बोलाएका हुन् ।

    पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको देउवाको स्वकीय सचिव भानु देउवाले जानकारी दिए । भानुका अनुसार बैठकमा कोरोना महामारी र राष्ट्रिय राजनीतिबाट उत्पन्न प्रतिकूलताका बावजुद महाधिवेशन गर्ने विकल्पको खोजी हुने छ ।

    यी दुवै प्रतिकूलताका बीच आगामी भदौभित्र संविधानतः महाधिवेशन गर्नुपर्ने बाध्यतामा काँग्रेस रहेको छ । वडा तहसम्मै अधिवेशनको कार्यतालिका संशोधन गरेर काँग्रेसमा तयारी छ ।

    काँग्रेसले भदौ ७–१० का लागि १४ औं महाधिवेशनको मिति तोकेको भएपनि अहिलेसम्म कार्यतालिकाअनुसार काम भएको छैन । असार ५ गतेबाट वडा तहको अधिवेशन गर्ने कार्यतालिका भएपनि क्रियाशील सदस्यताकै विषय अन्तिम टुंगोमा पुग्न सकेको छैन ।

    कोरोना महामारी र आन्तरिक विवादले कार्यतालिका अनुसार काम हुन नसकेपनि काँग्रेसलाई अब महाधिवेशन सार्ने र टार्ने सुविधा छैन । नियमित प्रक्रियाअनुसार १६ महिनाअघि नै १४ औँ महाधिवेशन सम्पन्न हुनुपर्नेमा विशेष परिस्थिति देखाउँदै एक वर्ष थप गरिएको थियो ।

    त्यो समयमा पनि महाधिवेशन हुन नसकेर संविधानको धारा २६९ को उपधारा ४ ‘ख’ अनुसार पाँच वर्षभित्र दलले आफ्नो अधिवेशन गर्न नसकेमा ६ महिना म्याद थप्न सक्ने प्रावधानमा टेकेर काँग्रेसले वर्तमान कार्यसमितिको कार्यकाल भदौसम्म थप गरेको छ ।

    २०७२ फागुन १९ गते १३ औँ महाधिवेशन गरेको काँग्रेसका लागि ०७८ भदौ १९ गते उता १४ औं महाधिवेशन गर्ने सुविधा छैन ।

    काँग्रेस सभापति देउवाले पनि भदौमा महाधिवेशन हुने र आफू पूर्ण प्रतिबद्ध भएको बताइसकेका छन् । जेष्ठ २५ गते नै पार्टीको शीर्ष तहका महाधिवेशनबारे छलफल गर्ने देउवाको तयारी भएपनि नेता कृष्णप्रसाद सिटौला गृहजिल्ला झापाबाट नर्फिएकाले रोकिएको थियो । सिटौला फर्किएसँगै देउवाले भोलिलाई बैठक बोलाएका छन् ।

  • २८ जेष्ठ २०७८, शुक्रबार १५:२९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images