बागीलाई कांग्रेसमा अब ‘नो इन्ट्री’
  • CIA Khabar

  • काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरणमा कडाइ गरेको छ । पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध उम्मेदवारी दिने विद्रोहीरबागीलाई क्रियाशील सदस्यताबाटै बञ्चित गर्ने निर्णय कांग्रेसको छ । १४ औं महाधिवेशनको संघारमा कांग्रेसले जिल्ला कार्यसमितिमा परिपत्र गरेर गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउने भूमिका खेल्ने बागी, प्रस्तावक र समर्थकलाई क्रियाशील सदस्यता नै नदिन भनेको छ ।

    साथै अनुशासनको कारवाही गरिएकालाई पनि क्रियाशील सदस्यता नदिन कांग्रेसले मातहत निकायलाई निर्देशन गरेको छ । यो नियम कार्यान्वयनमा आएपछि वरिष्ठ नेता रामचन्द्र पौडेललाई चुनाव हराउन भूमिका खेलेको आरोप लागेका गोविन्दराज जोशीले क्रियाशील सदस्यता पाउने छैनन् ।

    यसअघि नै कांग्रेसले जोशीलाई ५ वर्षका लागि पार्टीबाट निकालेको थियो । त्यसबेला आफूलाई प्रजातान्त्रिक भन्ने कांग्रेसले यस्तो कारवाही गरेकोमा पार्टीभित्रबाटै विरोध भएको थियो । भीष्मराज आङ्देम्बे संयोजक रहेको अनुशासन समितिले जोशीको सदस्यता नै खारेज गरिदिएको थियो । २०७५ साउनमा बसेको समितिको बैठकले पूर्वसहमहामन्त्री जोशीलाई सदस्यबाट हटाएको थियो ।

    यस्तै पूर्वराज्यमन्त्रीसमेत रहेका कैलालीका महासमिति सदस्य पुष्करनाथ ओझालाई पनि पाँच वर्षका लागि सदस्यबाट हटाइएको थियो । ओझालाई पार्टी नेता आरजु राणा देउवालाई २०७४ को चुनावमा असहयोग गरेको आरोपमा निकालिएको थियो । जोशी र ओझासहित दुई सय ७९ जनाभन्दा बढीलाई कांग्रेसले यसबीचमा अनुशासनको कारवाही गरेको छ ।

  • ४ असार २०७८, शुक्रबार १९:०७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images