काठमाडौ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् । बिहीबार दिउँसो २ बजे बसुन्धरास्थित दियालो फुडल्याण्डमा बैठक बोलाइएको केन्द्रीय सदस्य कल्याण गुरुङले बताए ।
सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले सभापतिको दाबेदारी प्रस्तुत गर्दै सक्रियता बढाएपछि पौडेलले पनि बैठक बोलाएका छन् । पौडेल पक्षमा १४ औं महाधिवेशनको नेतृत्वको विषय टुंगो लगाउन बैठक राख्न पौडेललाई नेताहरुले दबाब दिएका थिए ।
पौडेल पक्षमा आधा दर्जन नेता सभापतिको आकांक्षी देखिएको छ । वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह, शेखर कोइराला, सुजाता कोइराला, कल्याण गुरुङले सभापति उठ्ने बताइरहेका छन् ।
देउवाले आफूनिकट सातै प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल गरी सभापतिमा दोहोरिने बताइसकेका छन् । निधिले पनि संस्थापन इत्तर पक्षका नेताहरुसँग सोमबार छलफल गरी सभापतिमा सहयोग मागेका थिए ।