मुम्बईएबीपी लाइभ। बलिउडमा ट्रेण्ड परिवर्तन गर्ने अभिनेत्रीको नाम लिँदा करिश्मा कपूरको नाम छुट्दैन । सन् १९७४ जून २५ मा जन्मिएकी करिश्मा सन् ९० को दशकमा बलिउडकी हिट अभिनेत्री थिइन् ।
अभिनेता रणधीर कपूर र आमा बबिता कपूरकी छोरी भए पनि करिश्मालाई फिल्ममा प्रवेश गर्नु सजिलो थिएन । फिल्ममा आउने निर्णय लिँदा उनको परिवारबाट नै विरोधको सामना गर्नुपर्यो ।
तत्कालीन समयमा कपूर वंशजको छोरी फिल्ममा आउनु राम्रो मानिदैन थियो । तर करिश्मालाई आमा बबिताले साथ दिइन् ।
सन् १९९१ मा १७ वर्षको उमेरमा करिश्माले फिल्म ‘प्रेम कैदी’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । फिल्म हिट त भयो, तर यो फिल्ममा उनको रुपलाई लिएर निकै मजाक बनाइएको थियो । कतिले उनलाई ‘लेडी रणधीर कपूर’ भने त कतिले उनी केटाजस्तै देखियोसम्म भने ।
अभिनेता गोविन्दासँग उनको जोडी निकै जम्यो । गोविन्दासँग उनले ‘राजा बाबु’, ‘हीरो नं वन’, ‘कुली नं वन’, ‘साजन चले ससुराल’ जस्ता हिट फिल्म दिइन् ।
सन् १९९६ मा रिलिज फिल्म ‘राजा हिन्दुस्तानी’ करिश्माको करियरकै सबैभन्दा हिट फिल्म साबित भयो । उनले ‘जुबैदा’, ‘शक्ति’, ‘फिजा’ जस्ता फिल्मबाट आफ्नो अभिनय कलालाई थप बाहिर ल्याइन् ।
उनले सन् २००३ मा नयाँदिल्लीका व्यवसायी सञ्जय कपूरसँग विवाह गरिन् । उनको दुई सन्तान छोरी समायरा र छोरा कियान कपूर छन् । तर उनको वैवाहिक जीवन राम्रोसँग चलेन ।
सन् २०१४ मा दुवैले आपसी सहमतिमा सम्बन्धविच्छेद गरे । सम्बन्धविच्छेदको चार वर्षपछि करिश्माले आफ्नो विवाहलाई लिएर एउटा ठूलो खुलासा गरिन् ।
‘हनिमुनको समयमा आफ्ना साथीसँग सञ्जयले मेरो मोलमोलाई गरे । उनले उनका साथीसँग एकरात सुत्न बाध्य बनाए’, उनले खुलासा गरेकी थिइन् । उनले सासुले आफूमाथि कुटपिट गरेको आरोप पनि लगाइन् ।