काँग्रेसमा वडादेखि केन्द्रसम्म महिला सहभागिता बढाउन माग
  • CIA Khabar

  • काठमाडौँ। नेपाली काँग्रेसका नेताहरूले वडा तहदेखि केन्द्रसम्म महिला सहभागिता बढाउँदै लैजानुपर्ने बताएका छन्। लोकतान्त्रिक सचेतना अभियानले काठमाडौँमा आयोजना गरेको ‘१४ औँ महाधिवेशनमा महिला तथा युवा नेतृत्व, सम्भावना र चुनौती’ विषयक भर्चुअल अन्तरक्रियामा नेताहरुले वडा तहदेखि नै महिला र युवाको सहभागिता बढाउनुपर्ने बताएका हुन् ।

    कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले काँग्रेसभित्र वडा तहदेखि केन्द्रसम्म नै महिला सहभागिता बढाउँदै लैजानुपर्ने बताइन् । उनले महिला क्षमतावान र सक्षम भएपनि नेतृत्वका लागि पार्टीभित्रबाटै असहयोग हुने गरेको गुनासो गरिन् । स्थानीय तहमा महिला सहभागिता विस्तारै बढ्दै गए पनि केन्द्रमा भने अत्यन्त न्यून रहेको उनको भनाइ थियो ।

    काँग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीभित्रको पदाधिकारीमा महिलालाई स्थान दिनेबारे विधान बनाउँदा कमजोरी भएको बताए । “आगामी महाधिवेशनबाट काँग्रेस पदाधिकारीमा युवाहरु आउनु पर्दछ” उनले भने । अर्का केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टी विधि र विधानमा चल्न नसक्दा अहिलेको अवस्था आएको बताए । “पार्टीभित्र विधि र विधानको शासन हुनुपर्छ, व्यक्तिको शासन होइन,” उनले भने । तल्लो तहबाट नै पार्टीलाई समावेशी बनाउनुपर्ने उनको भनाइ थियो ।

    केन्द्रीय सदस्य सीता गुरुङले काँग्रेससँगै स्थापना भएको नेपाल महिला सङ्घले अहिलेसम्म पार्टीको नेतृत्व गर्न नपाउनु दुःखद् कुरा भएको बताइन् । ‘पार्टीभित्र महिला अधिकारका लागि अझै लड्नुपर्ने अवस्था रहेको छ’, उनले भनिन् । अर्का केन्द्रीय सदस्य सरिता प्रसाईँले काँग्रेसले नयाँ र पुराना क्रियाशील सदस्यतालाई समेटेर अगाडि बढाए मात्र पार्टी बलियो हुने बताइन् । पार्टीभित्रका भ्रातृ र शुभेच्छुक संस्थाको समयमा महाधिवेशन हुन नसक्नु दुःखद् भएको उनको भनाइ थियो ।

    सो अवसरमा नेपाल महिला सङ्घकी महासचिव धना खतिवडा, काँग्रेस पाँचथरका सभापति नरेन्द्र केरुङ, ताप्लेजुङका सभापति लीला वोखिमलगायतले केन्द्रीय कार्यसमितिमा महिला सहभागिता बढाउनु पर्नेमा जोड दिए ।

     

  • १३ असार २०७८, आईतवार १९:५२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images