पाल्पा । रामपुर नगरपालिका वडा नम्बर १० लाई पुर्ण संस्थागत सुत्केरी वडा र पोषण मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । गेझा स्वास्थ्य चौकीको आयोजनामा भएको एक कार्यक्रममा वडालाई पुर्ण संस्थागत सुत्केरी वडा र पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो ।
आर्थिक बर्ष २०७६÷०७७ र आर्थिक बर्ष २०७७÷०७८ जेठ सम्मको तथ्याङ्कमा वडामा भएको कुल सुत्केरी संख्या १ सय ५४ जनामा स्वास्थ्य संस्थामा सुत्केरी हुने दर ९५ प्रतिशत बढी छ । जसमध्ये १ सय ४७ जना स्वास्थ्य संस्थामा नै सुत्केरी भएका छन् भने ७ जना घरमा सुत्केरी भएका छन् । टिडि खोप लगाउने ९८ प्रतिशत छन् जसमध्ये १५० जनाले खोप लगाएका छन् भने पहिलो पटक गर्भजाच पनि १ सय ५० जनाले नै गरेका छन् । नियम अनुसार ४ पटक गर्भाजाच गराउने गर्भवती ८६ प्रतिशत अर्थात् १३२ जना रहेको गेझा स्वास्थ्य चौकीका प्रमुख बिक्रम भण्डारीले जानकारी दिनुभयो । गर्भवती अबस्थामा थप पौष्टिक आहार र स्वास्थ्य, शिक्षा नियमित अबलम्बन गरेको पाइएको छ । ९५ प्रतिशतले प्रसुति सेवा लिएकोमा २० बर्ष उमेर मुनिका ९ प्रतिशत अर्थात् १३ जना रहेको गेझा स्वास्थ्य चौकीले जानकारी दिएको छ । जनजाति समुदायको बाक्लो बस्ती रहेको वडा नम्बर १० मा सुत्केरी हुन आउने महिलामा जनजाति ९३ जना, ब्राह्मण तथा क्षेत्री ३९ जना छन् भने दलित समुदायका २२ जना छन् ।
गेझा स्वास्थ्य चौकीका प्रमुख बिक्रम भण्डारीका अनुसार स्वास्थ्य संस्थामा बच्चाको बृद्धि अनुगमन ९१ प्रतिशत पु¥याउन सफल भएको छ । स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य आमा समुह एंव स्वयंसेवकहरुको छलफलले संस्थागत सुत्केरी हुने र सुत्केरी भएपश्चात् नियमित खोप, पोषण सहित सरसफाई र हेरचाहमा मद्धत पु¥याएको छ । २०३ जनाको बृद्धि अनुगमनको लक्ष्य राखेकोमा १ सय ८२ जना बच्चाको २ हजार ८ सय ४२ पटक बृद्धि अनुगमन गरेका छन् । राष्ट्रिय भिटामिन ए कार्यक्रममा ३ सय ९० जनाले भिटामिन र ३ सय ५२ जनाले जुकाको औषधी खाएका छन् । स्तनपान गराउने आमाहरु ९५ प्रतिशत भन्दा बढी उपलब्धि भएको यस क्षेत्रमा कोही बच्चा पनि कुपोषित नभएको सुनिश्चित भएको छ ।
यी सबै उपलब्धि प्राप्त गर्न स्वास्थ्य संस्थामा सोही अनुसार व्यवस्थापनलाई ध्यान दिएको प्रमुख भण्डारीले बताउनुभयो । गेझा स्वास्थ्य चौकी र मातहतमा पोषण कर्नर स्थापना भएको, स्तनपान सम्बन्धी पोष्टर टास भएको, आमा तथा शिशुले नियमित पुर्ण खोप लगाएर खोप युक्त वडा घोषणा गरिएको, नियमित परामर्श, प्रत्येक पटक गर्भ जाचमा आउदा ‘‘बाबाको चिठी’’ सन्देशमुलक सामाग्री दिने गरेको, पोषण जाच गर्ने सामाग्री र औषधि पुर्ण भएको छ । सामान्य लाग्ने यी बिषयबस्तुलाई संस्थाले तदारुकताका साथ लिएपछि संस्थागत सुत्केरी, नियमित जाच एंव बच्चा र आमाको स्वास्थ्यका बिषयमा गम्भिर हुदै नियमित सेवा लिन आउने गरेपछि राज्यले तोकेका मापदण्ड पुरा गर्न सकिएको भण्डारीको भनाई छ ।
गेझा स्वास्थ्य चौकीले नियमित स्वास्थ्य चौकीमा जाच तथा सुत्केरी सेवा लिएर पोषण एंव बच्चाको बृद्धि विकासमा उत्कृष्ट १० बच्चाका आमालाई पुरस्कृत गरेको छ । पुरस्कृत हुने आमाहरुमा लालुमाँया सारु, सीता भण्डारी, अनिता भण्डारी, धनिसरा राना, कविता नेपाली, टिकादेवी भट्टराई, सविता भण्डारी, हिरा खाम्चा, माधुरी कुमाल र कान्तीमायाँ कुमाल रहनुभएको छ । उहाँहरुलाई एक क्यारेट अण्डा र सरसफाईका सामाग्री नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापा र उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले प्रदान गर्नुभयो । यसैबिचमा लामो समयदेखि महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा रहेर समुदायमा स्वास्थ्य सचेतना दिनुहुने ३ महिला स्वास्थ्य स्वंयसेविकालाई सोही अबसरमा सम्मान सहित विदाई गरिएको छ । महिला स्वास्थ्य स्वयंसेविका मायाकान्ती भण्डारी, हिमाकुमारी चापागाई र नारायणी भण्डारीलाई दोसल्ला, पाल्पाली करुवा र सम्मान पत्रले सम्मान गरिएको हो । महिला स्वास्थ्य स्वयंसेविका सीता सिंजालीलाई उत्कृष्ट पुरस्कार प्रदान गरियो । यसैबिच, स्वास्थ्य चौकी गेझाले यस कार्यक्रमलाई सफलतामा लैजान सघाउने सुआहारा कार्यक्रम अन्तर्गत बेस नेपाललाई संस्थागत सम्मान गरेको छ ।
घोषणा तथा सम्मान कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले कोभिडको समयमा सबै संयमित भएर स्वास्थ्यलाई ध्यान दिएर दैनिक कार्य गर्न आग्रह गर्नुभयो । उहाँले सबै नागरिक सचेत भएकाले पुर्ण संस्थागत सुत्केरी पोषणमैत्री हुन सकेको र स्वास्थ्य, शिक्षा अहिलेको प्रमुख बिषय भएको बताउदै अबको समय नियमित स्वास्थ्य जाच र स्वस्थ्य जीवनका लागि ध्यान दिनुपर्ने बताउनुभयो ।
रामपुर नगरपालिकाका उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले स्वास्थ्य संस्थामा गएर चेकजाच र सुत्केरी भए सम्मान भइन्छ भन्ने चेतनाको विकास भएको बताउनुभयो । पहिले घाँस दाउरा काट्दा मेलापात गर्दा बच्चा जन्माउने युगबाट स्वास्थ्य संस्थामा नै आउनुपर्छ भन्दै गर्दा आमा बच्चाको राम्रो स्वास्थ्य र नियमित आहारमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले संस्थागत सुत्केरीको शतप्रतिशत सफलताको लागि सबै लाग्नुपर्नेमा भुमिका खेल्न अनुरोध गर्नुभयो । सुनौलो हजार दिनका कार्यक्रमलाई प्रभावकारी भुमिका खेल्ने पोषणलाई प्रर्वद्धन गर्न आबश्यक रहेको बताउनुभयो । सोही अबसरमा नगरपालिका स्वास्थ्य संयोजक गिरिराज घिमिरे, जनकल्याण मा.विका प्रधानाध्यापक आनन्द प्रसाद भण्डारी र सृजना आमा समूह प्रतिनिधि राम कुमारी भण्डारीले स्वास्थ्य र पोषणका बिषयमा बिचार राख्नुभएको थियो ।
स्वास्थ्य चौकी व्यबस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष लिल बहादुर गाहाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष गाहाले मथिल्लो भेग बिकट हुँदा निकट भविश्यमा एम्बुलेन्स सेवा गेझामा दिन नगरपालिका तथा नगरप्रमुखलाई आग्रह गर्नुभयो । वडा सदस्य कृष्ण बहादुर सारुले स्वागत गर्नुभएको थियो भने संचालन स्वास्थ्य चौकी प्रमुख बिक्रम भण्डारीले गर्नुभएको हो ।