काठमाडौँ। वेस्ट इन्डिजविरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा पाहुना टोली दक्षिण अफ्रिकाले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई १६ रनले पराजित गर्दै सिरिज एक-एकको बराबरीमा पनि ल्याएको छ ।
दक्षिण अफ्रिकाले दिएको १ सय ६७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो ।
वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेट्चरले ३५ रन जोड्दा फाबियन एलनले ३४ रन बनाए । इभिन लेविसले २१ तथा जासन होल्डरले २० रन बनाए ।
दक्षिण अफ्रिकाका कागिसो राबडाले ३ तथा जर्ज लिन्डेले २ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका लागि कप्तान टिम्बा बाभुमाले सर्वाधिक ४६ रन बनाए । यस्तै रिजा हेन्ड्रिक्सले ४२ रन जोड्दा क्विन्टन डी ककले २६ रन बनाए ।
पाँच खेलको सिरिजमा पहिलो खेलमा वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई ८ विकेटले हराएको थियो ।