कांग्रेस बलियो भएमात्र लोकतन्त्र बलियो हुन्छ: सहमहामन्त्री डा महत
  • CIA Khabar

  • काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले कांग्रेस बलियो भएमात्र लोकतन्त्र बलियो हुने बताएका छन् ।

    लोकतन्त्रका लागि हाम्रो अभियानले सोमबार ‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशन र अबको बाटो’ विषयक कर्णाली प्रदेशस्तरीय भर्चुअल अन्तर्क्रियामा उनले कांग्रेसको स्थापना लोकतन्त्रको रक्षाका लागि भएको बताए ।

    ‘संविधान कार्यान्वयन र लोकतन्त्रको रक्षा गर्ने पार्टीले किन निर्वाचनमा कम भोट ल्यायो यसको बारेमा पार्टीभित्र समीक्षा हुनुपर्छ’, उनले भने । पार्टीले मुलुक र जनताका लागि गरेको कामको बारेमा प्रचारप्रसार गर्नु जरुरी रहेको उनको भनाइ छ ।

    सहमहामन्त्री डा महतले कांग्रेसभित्र पार्टीभन्दा व्यक्ति बलियो भएको बताए । उनले संविधान र कानूनको परिपालना गर्ने पार्टी कांग्रेसले कोरोना महामारी र बाढी पहिरोको चुनौतीबीच समयमा नै महाधिवेशन सम्पन्न गर्ने स्पष्ट पारे । पार्टीभित्र सङ्गठन गर्ने शैलीमा आमूल परिवर्तन ल्याउन जरुरी रहेको उनको भनाइ थियो । सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको उनले बताए ।

    कांग्रेस नेता एवं संविधानसभा सदस्य राजीवविक्रम शाहीले पार्टीभित्र भएको गुट उपगुट अन्त्य नभएसम्म कांग्रेस बलियो नहुने बताए । कार्यक्रममा कर्णाली प्रदेशका कांग्रेस जिल्ला सभापति र प्रदेशसभा सदस्यहरू सहभागी थिए ।

    कार्यक्रमका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले लोकतन्त्रको रक्षा गर्दै पार्टीलाई बलियो बनाउनका लागि आफूले उक्त अभियान सञ्चालन गरेको बताए । यसअघि यस्तो अभियान प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा सम्पन्न भइसकेको छ । आगामी दिनमा सुदूरपश्चिम प्रदेशमा सञ्चालन गरिने उनले बताए ।

  • १५ असार २०७८, मंगलवार १२:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images