काठमाडौं । नेकपा विप्लव समूहले सहमतिअनुसार नेता कार्यकर्ता नछुटेको भन्दै असन्तुष्टि जनाएको छ । नेताद्वय खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र धर्मेन्द्र बास्तोलाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सहमति कार्यान्वयन नभएको गुनासो गरेका हुन् ।
सरकार र विप्लव समूहबीच २१ फागुन २०७७ मा तीनबुँदे सहमति भएको थियो, जसमा विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउने र सरकारले प्रतिबन्ध फुकुवा गरेर कारागारमा रहेका नेता कार्यकर्ता रिहा गर्ने उल्लेख छ ।
सहमतिअनुसार केही नेता कार्यकर्ता छुटेपछि थुप्रै बाँकी रहेको विप्लव समूहको दाबी छ ।