बाढीले क्षति पुर्‍याएपछि देउखुरीको पुलबाट यातायात आवागमन बन्द
  • CIA Khabar

  • काठमाडौं । दाङको देउखुरीमा निर्मित लामो पुलमा बाढीले क्षति पुर्‍याएपछि यातायात आवागमन अवरुद्ध भएको छ । राप्ती नदीमा आएको बाढीले पुलको एकातर्फको भागमा क्षति पुर्‍याएपछि पुलबाट यातायातका साधन सञ्चालन बन्द भएको हो ।

    राप्ती गाउँपालिकाको सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने सो पुल गत माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

    महदेवातर्फ १५–२० मिटर सडक बाढीले बगाएकाले बुधबार बिहानबाट यातायात आवागमन अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘अहिले ठूला गाडीहरुलाई रोक लगाइएको छ, कटान जारी रहेकाले साना सवारी साधनलाई पनि रोक्नुपर्ने स्थिति आउन सक्छ ।’

    तत्काल मर्मत गर्न नेपालगञ्जस्थित पुल विभागलाई भनेको उनले बताए । अहिलेकै स्थितिमा पुललाई भने धेरै खतरा नदेखिएको उनको भनाइ छ ।

    राप्ती नदीमाथि बनेको यो पुल बर्दियाको कोठियाघाटपछि नेपालको दोस्रो लामो पक्की पुल हो । यो पुल एएनके लुम्बिनी वाईपी जेभीले पूर्वनिर्धारित समयभन्दा अगावै निर्माण सम्पन्न गरेको थियो । राप्ती नदीमाथिको पुल २०७३ मंसिर २२ गते तत्कालीन प्रधानमन्त्री प्रचण्डले शिलान्यास गरेका थिए ।

    ८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको यो पुल करिब एक अर्बको लागतमा निर्माण सम्पन्न भएको थियो ।

    बस्ती पनि डुबानमा

    देउखुरी क्षेत्रमा अविरल वर्षाका कारण गढवा गाउँपालिकाको महदेवा गाउँका केही घर डुबानमा परेका स्थानीय शिक्षक हिमालप्रकाश अधिकारीले जानकारी दिए । खौराहा र मन्द्रेनिया खोलामा आएको बाढीले आसपासका घर जलमग्न हुनुका साथै धान र मकैबालीमा पनि क्षति पुर्याएको छ । खौरा खोलाको बाढीले महदेवा स्कुलमा पनि बाढी पसेको छ ।

    महदेवा गाउँ सुधार समितिका अध्यक्ष जनकमान चौधरीले डाडागाउँ र बड्का गल्लीका धेरैजसो घर डुबानमा परेको बताए । यी ठाउँका घरहरु बर्सेनि बाढीको चपेटामा पर्दै आएका छन् । तर डुबानको समस्या समाधानको प्रभावकारी उपाय अवलम्बन गरिएको छैन ।

    हाल कालाकाटे-गढवा हुलाकी सडक विस्तारको काम जारी रहेकाले साना कल्भर्ट र नाला समेत थुनिएकाले पानी निकास नहुँदा पनि घरमा पानी पसेको स्थानीयवासी बताउँछन् ।

  • २३ असार २०७८, बुधबार १७:३६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images