काठमाडौँ। पार्टी एकताको लागि गठन भएको नेकपा एमालेको कार्यदलबीच वार्ता शुरू भएको छ ।
सिंहदरबारस्थित अर्थमन्त्रालयमा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदलबीच ठोस सहमतिमा पुग्ने गरी वार्ता शुरू भएको हो ।
बैठक शुरू हुनुअघि भीम रावल नेता नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए । वार्तामा आफ्नो पक्षबाट प्रस्तुत हुनेबारे रणनीतिको लागि छलफल गर्न रावलले नेपाललाई भेटेको बताइएको छ ।
रावल सिंहदरवार फर्केलगत्तै अहिले वार्ता जारी छ । त्यसअघि आज बिहान रावल र विष्णु पौडेलबीच सिंहदरबारमा भेटवार्ता भएको थियो । पौडेलसँगको भेटपछि रावल नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए ।
हिजो दिउँसो नेताहरूले विवाद समाधानउन्मुख भएको बताउँदै आजसम्ममा सहमति हुने बताएका थिए ।
यस्तै, राति अबेरसम्म ओली र नेपाल दोस्रो तहका नेताहरूसहित छलफलमा बसेका थिए ।