काठमाडौँ। एमाले विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठक विनानिष्कर्ष सकिएको छ ।
निर्यायक हुने भनिएको आजको दोस्रो बैठकमा कुनै पनि विषयमा सहमति नभएको नेताहरुले जनाएका छन् ।
बैठकपछि प्रतिक्रिया दिदै नेता घनश्याम भुसालले भने,‘१० दिनअघि जुन एजेण्डा तयार गरेका थियौँ। तर गएको १० दिनदेखि खास काम गर्न सकेका छैनौँ । आज हामी अघि बढ्न सकेनौँ । भोलि बिहान बस्ने बैठकबाट निष्कर्ष निस्कन्छ भन्नेमा विश्वास छ ।’
तर अध्यक्ष ओली समूहका तर्फबाट कार्यदलको नेतृत्व गरिरहेका सुवास नेम्वाङले समेत आजको बैठकमा कुनै पनि विषयमा सहमति कायम हुन नसकेको बताए ।
उनले बैठक भोलि बिहान साढे ११ बजेसम्ममा लागि स्थगित भएको भन्दै उक्त बैठकले निर्णय गर्ने आशा रहेको बताए ।
उनले भने,‘अलि चाँडो चाँडो काम भइरहेको छ । तर आज टुंगोमा पुगिसकेको छैन । हामी आशावादी छौं भोलिको बैठक टुंगोमा पुग्छ ।’
तीन वर्षअघिदेखिको विवाद समाधानका लागि केही समय लाग्नु स्वभाविक रहेको भन्दै उनले भने,‘तीन वर्ष अघिदेखिको विवाद ९/१० दिनमा यो ठाउँमा पुग्नु भनेको धेरै काम भएको हो । भोलिको बैठकले केही निर्णय गर्छ भन्ने विश्वास छ ।’
कार्यदलमा रहेका एमाले उपमहासचिव विष्णु पौडेल भने उपस्थित भएनन् ।