काठमाडौँ। अविरल वर्षाका कारण साँफे–मार्तडी राजमार्ग पुनः अवरुद्ध भएको छ । केही दिनदेखि सञ्चालनमा आएको राजमार्ग पहिरोका कारण पुनस् अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउदले बताए ।
साउदका अनुसार बल्दे, अम्कोट, द्वारी र ओलेनामा ठूलो पहिरो आएपछि राजमार्ग अवरुद्ध भएको हो । पहिरो पन्छाउनका लागि स्काभेटर तयारी अवस्थामा रहे पनि वर्षा भइरहेकाले सडक खुलाउन समस्या भइरहेको साउदले बताए ।
असारको सुरुआतमै भएको वर्षाका कारण पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको थियो । पहिरो पन्छाएर जिप तथा ट्याक्टर सदरमुकाम आवतजावत गर्न थालेका थिए । तर, पहिरोका कारण आज बिहानदेखि राजमार्ग पुनः अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए ।
पानी रोकिएपछि पहिरो पन्छाएर यातायातका साधन सञ्चालनमा ल्याइने अधिकारीको भनाइ छ ।
जिल्लामा शुक्रबारदेखि लगातार अविरल वर्षा हुँदा बाढी र पहिराको त्रास बढ्न थालेको छ । डोजर प्रयोग गरेर बनाइएका सडकका कारण पहिरो जान थालेपछि स्थानीय त्रसित छन् ।