पाल्पा । रामपुर नगरपालिकाका बिपन्न तथा निम्न आय भएका परिवारलाई आयआर्जनमा सघाएर गरिवी निवारण गर्ने उद्देश्यले कृषि तथा पशु उद्यमशिता कार्यक्रमले तिब्रता दिएको छ ।
जिल्लामा दशकौं देखि तत्कालिन बिभिन्न गाविसमा विपन्न परिवारका लागि काम गर्दै आएको हेफर इन्टरनेशनल नेपालले अहिले जिल्लाका ८ स्थानीय तहमा काम गरेको छ । रामपुर नगरपालिकामा यही आर्थिक बर्षको अन्त्यतिर समन्वय भएर कार्यक्रम थालेको हेफरले पहिलो चरणमा आगामी २ बर्षसम्म चल्ने परियोजनाको बारेमा नगरका जनप्रतिनिधि तथा कृषि पशु क्षेत्रसँग छलफल गर्दै परियोजना निर्माण समिति र वडा स्तरीय व्यवस्थापन समिति गठन र कार्ययोजनालाई प्राथमिकता दिदै अगाडी बढेको छ ।
यो परियोजनामा रामपुर नगरपालिकाको ७५ प्रतिशत र हेफरको २५ प्रतिशत साझेदारी रहनेछ । हेफरले रामपुरमा बेस नेपालसँगको साझेदारीमा कार्यक्रम चलाएको छ । आगामी २०८० असार सम्म रामपुरमा सञ्चालन हुने कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाको बारेमा जानकारी दिनुहुदै हेफर इन्टरनेशनल नेपालका कार्यक्रम प्रबन्धक अनन्तराज सिलवालले परियोजना अन्तर्गत कृषि तथा पशु उद्यम अन्तर्गत महिला समुहमा काम गर्ने साथै कृषि उत्पादन र बजारीकरण, युवामा क्रृण प्रवाह तथा फरक क्षमता भएका व्यक्तिहरुको आयआर्जनमा सघाउने खालका कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो । परियोजनाको उत्कृष्टता हेरेर थप ४ बर्ष समय थपिनेछ । रामपुरमा यस अघि नै ५ वटा महिला सहकारीसँग समन्वयमा कार्यक्रम भैरहेको बताउदै उहाँले अब नगरका १० वटै वडामा निम्न आय घर परिवार पहिचान गरि तत्काल काम आगाडी बढाउने उल्लेख गर्नुभयो । कार्यक्रम बारे सहजिकरण गर्दै सिलवालले पाल्पा जिल्लामा महिला समुहमा गरेको लगानी र प्रतिफल खुलेर प्रशंसा गर्न योग्य बनेको बताउदै मुल समुह र उपचार समुहमा रहेका महिला समुहले बाख्रा, बंगुर पालन गरेर बर्षेनि राम्रो आम्दानी गरेसँगै सहकारी चलाएर जिवन थप समृद्ध बनाउनुभएको बताउनुभयो । उत्कृष्ट कार्य गरेका र आबश्यकताको आधारमा जिल्लाका निस्दी, रम्भा र तानसेनका ३ सहकारीलाई कृषि उपज बजार पु¥याउन ५० प्रतिशतमा अनुदानमा गाडी किनिएको बताउदै त्यसैले धेरै किसानलाई सहज बनाएको सिलवालले बताउनुभयो ।
पाल्पामा हाल १ हजार ८ सय ५० महिलाहरुले शेयर लिएर आर्थिक रुपमा समुहमा रहेर काम गरेका छन् । कम्तिमा ५ हजार देखि २ लाख शेयर लिएर आर्थिक गतिविधिमा अगाडी बढ्न परियोजनाले प्रेरित गरेको छ ।
रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै थापाले रामपुरमा परियोजनाले उत्कृष्ट कार्य गर्र्ने बताउनुभयो । नगर परिषद्बाट यसका लागि रकम विनियोजन नभएपनि संघ र प्रदेश र स्थानीय तहको बजेटबाट कृषि र पशु विकासमा काम गर्न सकिने बताउनुभयो ।
रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले सहकारीता, समन्वय र सहअस्तित्वको सम्बन्धनात्मक भावनाले राम्रो नजिता दिने भन्दै यसको अबलम्बनमा जोड दिनुपर्ने बताउनुभयो । गरिवी न्युनिकरण र बितरणमा धेरै कार्यक्रम भएपनि त्यसको अनुगमन र प्रतिफलमा कम चासो पुग्ने गरेको उल्लेख गर्दै उहाँले रामपुरको मानव विकास सुचकाङ्क कतिबाट कति पुग्यो? जिवन आयस्तरमा कत्तिको उपलब्धि आयो भनेर मुल्याङ्कन सहित प्रतिफल निकाल्ने गरि काम गर्नुपर्ने बताउनुभयो ।
सोही अबसरमा नगरमा नगरप्रमुखको अध्यक्षतामा परियोजना निर्माण तथा अनुगमन समिति, वडामा वडाअध्यक्षको अध्यक्षतामा वडा स्तरीय व्यवस्थापन समितिको प्रस्ताव तथा छनोट गरिएको छ । आगामी साउन १५ गतेभित्र सबै वडामा वडा स्तरीय समिति गठन र यस बर्षको कार्ययोजना निर्माण गरिसक्ने हेफरका कार्यक्रम अधिकृत शोभाखर न्यौपानेले बताउनुभयो । समितिमा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडा जनप्रतिनिधि, बिषयगत शाखा एवं साझेदार सस्थाका प्रतिनिधि रहनेछन् । रामपुर नगरपालिकामा आगामी बर्षको लागि सवा २ करोडको कार्ययोजना निर्माण हुनेछ । यस बर्ष असार अन्तिमसाता हेफरले नगरको समन्वयमा मुख्यमन्त्री कार्यक्रम अन्तर्गत १ सय २८ किसानलाई बाख्रा बितरण गरेको थियो ।
कार्यक्रममा रामपुर नगरपालिकाका जनप्रतिनिधि, पत्रकार, कृषि तथा पशु सेवा कार्यालयका कर्मचारी, परियोजनाका कर्मचारी लगायतको सहभागिता रहेको थियो । साझेदार संस्था बेस नेपालका उपाध्यक्ष लेखनाथ शर्मा मरासिनीको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन परियोजनाका युवा संयोजक सञ्जु परियारले गर्नुभएको हो ।