काठमाडौँ। सत्तारुढ नेकपा एमाले सम्बद्ध युवा संघ र नेपाल खेलकुद महासंघले विपक्षी गठबन्धनविरुद्ध काठमाडौँमा प्रदर्शन गरेका छन् ।
वर्तमान सरकार र नेकपा एमालेविरुद्ध घेराबन्दी भएको भन्दै उनीहरूले काठमाडौँमा प्रदर्शन गरेका हुन् ।
उनीहरुले सरकारले संविधानअनुसार नै काम गर्दा पनि घेराबन्दीमा पार्न खोजिएको आरोप लगाएका छन् । प्रदर्शनमा सहभागीहरुले ‘आइएम वीथ केपी ओली, ‘स्वतन्त्र न्यायपालिकाको सम्मान गरौं, संविधानको कार्यान्वयन गरौं’, ‘संवैधानिक सर्वोच्चता कायम गरौं, व्यवस्था विरोधी कदम बन्द गरौं’ लगायतका प्लेकार्ड बोकेका थिए । युवा संघले बिजुली बजारबाट माइतीघर मण्डलासम्म जुलुस निकालेको थियो ।
त्यस्तै एमाले निकट खेलकुद महासंघले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको चुच्चे नक्सा, संविधान र ओलीको डमीसहित प्रदर्शन गरेको छ । त्रिपुरेश्वरमा गरिएको प्रदर्शनका क्रममा केपी शर्मा ओलीको पक्षमा नाराबाजी गरेका थिए ।
खेलकुद महासंघका अध्यक्ष रमेश पौडेलले सरकारलाई असफल बनाउने काम भएको र मुलुकमा अराजक अवस्था सिर्जना गर्न खोजिएको भन्दै खबरदारी गरिएको बताए ।
एमाले निकट संगठनले जनताको सार्वभौमसत्ताको रक्षा र विपक्षी गठबन्धनको असंवैधानिक तथा राष्ट्रघाती कदमका विरुद्ध निरन्तर प्रदर्शन गर्ने जनाएका छन् ।