काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले लोकतन्त्र र संविधानको रक्षा गरेको बताएका छन् ।
पौडेलले अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न जारी गरेको परमादेशले विपक्षी गठबन्धनको संविधान बचाउने अभियान सफल भएको बताएका हुन् ।
‘सर्वोच्च अदालतले संविधान बचाउने अभियानलाई सफल बनाएकाले न्यायमूर्तिलाई धन्यवाद र मित्र शेरबहादुर देउवालाई पनि बधाई दिन्छु ,’ पौडेलले भने ।
प्रधानमन्त्री केपी ओलीले निरन्तर गैरसंवैधानिक कदम चालेर संविधानलाई ध्वस्त बनाइरहेको विपक्षी गठबन्धनको आरोप थियो ।
प्रधानमन्त्री ओलीले ८ जेठमा प्रतिनिधिसभा दोस्रो पटक विघटन गरेपछि संविधानलाई ध्वस्त बनाएको पौडेलको तर्क थियो ।