नियुक्ति सच्याएलगत्तै प्रधानमन्त्री देउवाले लिए पद तथा गोपनीयताको शपथ
  • CIA Khabar

  • काठमाडौँ ।    नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    राष्ट्रपति कार्यालय शीतलनिवासमा एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डालीले प्रधानमन्त्री देउवालाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् । राष्ट्रपतिले देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्दा संविधानको धारा उल्लेख नगरेपछि शपथग्रहण कार्यक्रम केहीबेर रोकिएको थियो । राष्ट्रपति कार्यालयले नियुक्तिपत्र सच्याएपछि देउवाले शपथ लिएका हुन् । राष्ट्रपति कार्यालयले देउवा संविधानको धारा ७६९५० अनुसार प्रधानमन्त्री नियुक्त भएको भनी सच्याएको हो ।

    सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापित गर्दै देउवालाई प्रधानमन्त्रीमा नियक्त गर्न परमादेश दिएको थियो । सोही आदेशअनुसार राष्ट्रपतिले देउवालाई मंगलबार अपराह्न प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । नेपालको प्रधानमन्त्रीका रूपमा देउवा पाँचौँ पटक नियुक्त भएका हुन् ।

    को हुन् देउवा ?

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा २००३ सालमा डडेलधुराको असिग्राममा जन्मिएका हुन् । २०२० सालदेखि नै देउवा कांग्रेस राजनीतिमा सक्रिय छन् । विद्यार्थी राजनीतिबाट २०२८ सालमा नेपाल विद्यार्थी संघको सभापतिमा उनी निर्वाचित भएका थिए ।

    देउवा ०४८ सालदेखि नै डडेलधुराबाट सांसदमा निर्वाचित हुँदै आएका छन् । देउवाले पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा दुईवटा निर्वाचन क्षेत्रबाट चुनाव जितेका थिए । पहिलो संविधानसभामा डडेलधुरा र कञ्चनपुर ४ र दोस्रो संविधानसभामा डडेलधुरा र कैलाली ४ बाट निर्वाचित भएका हुन् । संसदीय राजनीतिमा देउवा अपराजित व्यक्ति हुन् ।

    देउवाले राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् । पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा देउवाले पटक(पटक हार व्यहोरेका थिए । देउवा ०५६ चैतमा पहिलो पटक भएको संसदीय दलको निर्वाचनमा तत्कालीन पार्टीका नेता गिरिजाप्रसाद कोइरालासँग प्रतिस्पर्धामा उत्रिएका थिए । उनी पराजित बन्न पुगे । त्यसपछि उनले ०५७ मा पोखरामा भएको दशौँ महाधिवेशनमा तत्कालीन पार्टीका नेता गिरिजाप्रसाद कोइरालासँग उनी सभापतिमा प्रतिस्पर्धा गरे र पराजय व्यहोरे ।

    २०५८ सालमा सुशील कोइरालाविरुद्ध संसदीय दलको नेताको निर्वाचनमा उत्रिँदा उनी निर्वाचित भए । त्यसपछि ०६६ असारमा भएको दलकै निर्वाचनमा नेता रामचन्द्र पौडेलसँग देउवा पराजित भएका थिए । पार्टी फुटाएर २०६४ मा फर्किएपछि देउवाले संस्थापनको नेतृत्व गर्न पनि सफल भए ।

    प्रधानमन्त्री भएका बेला पार्टीको निर्देशनविपरीत ८ जेठ २०५९ मा संकटकाल लम्ब्याउने निर्णय गरेपछि उनलाई कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो । त्यसपछि उनले ४ असोज २०५९ मा पार्टी फुटाएर कांग्रेस प्रजातान्त्रिक गठन गर्दै सभापति भए । ०६४ मा पार्टी एकीकरणपछि देउवा दोस्रो मर्यादाक्रममा रहने गरी फर्किए । २३ फागुन २०७२ मा उनी कांग्रेसको सभापति बन्न सफल भए ।

    कांग्रेस राजनीतिमा देउवालाई भाग्यमानी पात्रका रूपमा लिइन्छ । कांग्रेस दोस्रो पुस्ताका नेता देउवा ०५१ को मध्यावधि निर्वाचनमा विपक्षी दलको नेतामा चयन भएका थिए । त्यसपछि उनलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो । देउवा ०५२, ०५८ / ०६१ २०७४ र/२०७८ गरी पाँच पटक प्रधानमन्त्री बन्ने व्यक्ति हुन् । प्रधानमन्त्रीमा उनले कांग्रेसका दिवंगत सभापति गिरिजाप्रसाद कोइरालाको रेकर्ड भेटेका छन् ।

    आफ्नो पक्षमा लाग्ने कार्यकर्ताको राम्ररी संरक्षण गर्ने र जे पनि निर्णय गर्न नहिचकिचाउने नेताको छवि देउवाको छ । पटक–पटक जेल परेका देउवाको जेलजीवन १० वर्ष १० महिनाको छ ।

  • २९ असार २०७८, मंगलवार २१:२३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images