काठमाडौँ । संघीय संसदको अधिवेशन शुरू हुन दुई दिन मात्र बाँकी हुँदा शुक्रबार सांसदहरूको कोरोना भाइरस परीक्षण गरिएको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसदको स्काई लाइट हलमा सभामुखसहित सांसदहरूको एन्टिजेन परीक्षण गरिएको हो ।
आजै संसदको रिपोर्टिङ गर्ने सञ्चारकर्मीहरुको पनि स्वाब संकलन गरिएको संघीय संसद सचिवालयले जनाएको छ ।
सम्पूर्ण सांसदहरूलाई यसअघि नै कोरोना भाइरसविरुद्धको खोप लगाइएकाले शुक्रबार एन्टिजेन परीक्षणमात्र गरिएको सचिवालयले स्पष्ट पारेको छ । यसअघि सांसदहरुको पीसीआर परीक्षण गरिएको थियो ।
परीक्षणका क्रममा कसैको रिपोर्ट पोजेटिभ आए आइसोलेशनमा पठाउने सचिवालयले जनाएको छ ।
सर्वोच्च अदालतको आदेशमा पुनर्स्थापित प्रतिनिधि सभाको अधिवेशन आइतबार शुरू हुँदैछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार अपराह्न चार बजेका लागि दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभाको अधिवेशन बोलाएकी हुन् । राष्ट्रिय सभाको सातौं अधिवेशन राष्ट्रपति भण्डारीले गत सोमबार मध्यरातिबाट अन्त्य गरेकी थिइन् ।