कांग्रेस महाधिवेशन निर्धारित मितिमै
  • CIA Khabar

  • काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकले निर्धारित मितिमा नै पार्टीको १४औं महाधिवेशन गर्ने निर्णय गरेको छ । केन्द्रीय महाधिवेशन १६ देखि १९ भदौसम्म काठमाडौंमा गर्ने निर्णय यसअघि नै भइसकेको छ । महाधिवेशन निर्धारित समयमा हुने नहुने आशंका भइरहँदा पदाधिकारी बैठकले निर्धारित समयमा नै गर्ने निर्णय गरेको हो ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकमा पार्टीको १४औं महाधिवेशन, क्रियाशील सदस्यता र समयावधिका विषयमा छलफल भएको थियो ।

    कांग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले बैठकमा निर्धारित मितिमा नै महाधिवेशन गर्नेबारे नेताहरू सहमत रहेको जानकारी दिए । उनका अनुसार बैठकमा कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिबाट भएका कामको प्रगति, समायोजन समितिबाट भएका काम र निर्वाचनसम्बन्धी निर्देशिकाका विषयमा छलफल भएको र सम्बन्धित समितिका संयोजकहरूले अवस्थाबारे ब्रिफिङ गरेका थिए ।

    बैठकमा सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले ७५ जिल्लाका क्रियाशील सदस्यतासम्बन्धी काम सकिएको ब्रिफिङ पार्टी नेतृत्वलाई गरे । सप्तरी र बारामा भने विवाद बढी देखिएको छ ।

    लेखकले आइतबारसम्म पार्टी सभापति शेरबहादुर देउवालाई क्रियाशिल सदस्यतासम्बन्धी सूची बुझाइने जानकारी दिए । उनका अनुसार विदेशस्थित जनसम्पर्क समितिबाटसमेत गरी कांग्रेसमा ९ लाख क्रियाशील सदस्य पुगेका छन् ।

    यसैगरी उपसभापति विमलेन्द्र निधिले अन्य पार्टीबाट कांग्रेसमा समायोजन भएर आएका नेताकार्यकर्ताहरूको समायोजनसम्बन्धी विषयमा जानकारी गराएका छन् भने निर्वाचनसम्बन्धी निर्देशिका निर्माणका विषयमा समेत छलफल भएको छ ।

    पदाधिकारी बैठकले निर्वाचनसम्बन्धी निर्देशिकाको टुंगो लगाउन सहमहामन्त्री महत र केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाललाई जिम्मेवारी तोकेको छ । बैठकमा मन्त्रिपरिषद् विस्तार र मन्त्रालय बाँडफाँटका अन्य विषयमा भने कुनै छलफल नभएको सहमहामन्त्री महतले दाबी गरे ।

    कांग्रेसले निर्धारण गरेको महाधिवेशन कार्यतालिकाअनुसार १२ साउनबाट वडा अधिवेसन सुरु भइसक्नुपर्नेछ । यसैगरी, गाउँ र नगरको अधिवेशन १६ साउन, प्रदेशसभा क्षेत्रीय अधिवेशन २० साउन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २३ साउनका लागि तय छ । यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ साउन र प्रदेश अधिवेशन १ र २ भदौका लागि तय छ ।

  • २ श्रावण २०७८, शनिबार ०८:४२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images