म्याग्दी । म्याग्दीको बेनी नगरपालिका २, बगरफाँटमा पहिराले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि १५ दिनदेखि खानेपानीको हाहाकार भएको छ ।
गत असार १७ गते मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा गएको बाढी तथा पहिराले मुहान र पाइप लाइन बगाइदिए पछि यहाँका २०८ घर परिवारलाई खानेपानीको समस्या भएको हो ।
गाउँमा रहेका २८ वटा धारामा पानी नआए पछि कुवा र म्याग्दी नदीको धमिलो पानी उमालेर पिउन स्थानीयहरू बाध्य भएका बेनी नगरपालिका– २ बगरफाँटका टेकबहादुर कार्कीले बताए ।
दुई सय १४ घरधुरी रहेको बगरफाँटमा १५ दिनदेखि खानेपानीको समस्या हुँदासमेत कुनै वैकल्पिक व्यवस्था हुन नसक्दा यहाँका बासिन्दा ठूलो समस्यामा परेका स्थानीयले बताएका छन् ।
विसं २०६९ मा बेनी नगरपालिका–३ भकिम्ली र बेनपा–२ ज्यामरुककोटको सीमामा पर्ने कोप्रे खोलाको मुहानबाट पानी ल्याई बगरफाँटका २८ वटा धारामा वितरण गरिएको थियो । ५४ लाखको लागतमा बगरफाँट खानेपानी तथा सरसफाइ आयोजनाले योजना सम्पन्न गरी गाउँमा खानेपानीको सुविधा उपलब्ध गराएको थियो ।