माधव नेपाललाई महेश बस्नेतको धम्की, मुखले सम्झाउँदा नमाने हातगोडा चलाइन्छ
  • CIA Khabar

  • काठमाडौँ । एमालेका विवादित नेता महेश बस्नेतले पार्टी वरिष्ठ नेता माधव नेपाललाई भौतिक आक्रमण गर्ने धम्की दिएका छन् । युथफोर्स काठमाडौं भ्याली कमाण्ड घोषणा तथा शपथ ग्रहण कार्यक्रममा भाषण दिने क्रममा उनले पूर्वप्रधानमन्त्री नेपाललाई ‘हातगोडाले सम्झाउने’ धम्की दिएका हुन् ।

    एमाले अध्यक्ष केपी ओलीले ‘आममाफी दिएँ’ भनेपछि हिजो नेता नेपालले ‘बडा महाराजाधिराजले आममाफी दिनुभयो, अब नाचौँ’ भन्ने प्रतिक्रिया दिएका थिए । नेता नेपालको सोही भनाइप्रति आपत्ति जनाउँदै पूर्वमन्त्री बस्नेतले भने, ‘पार्टी नेताले आममाफी दिन्छु, एकताको प्रक्रियामा आउनु भन्दा केपी कमरेडलाई बडामहाराजको संज्ञा दिनुभयो हिजो एउटा ब्याक्वेटमा बसेर । मुखले सम्झाउँछौँ । मलाई लाग्छ मुखले सम्झाउँदै काफी हुन्छ । यदि मुखले सम्झाउँदा मानेनन् भने कहिलेकाहीँ हातगोडाले पनि सम्झाउनुपर्ने हुन सक्छ ।’ विभिन्न क्षेत्रबाट भेला गरिएका युवाहरूको अगाडि उभिएर बस्नेतले यसो भनेका थिए ।

    यसअघि प्रतिनिधिसभा विघटन मुद्दामा सर्वोच्च अदालतको परमादेशविरुद्ध नाराबाजी गरेका बस्नेतले अहिले आफ्नै पार्टीका शीर्ष नेतालाई धम्की दिएका हुन् ।

    स्मरणीय छ, गत २८ जेठमा कांग्रेसका बागमती प्रदेश सांसद नरोत्तम वैद्यले तत्कालीन प्रधानमन्त्री केपी ओलीमाथि आक्रमणको धम्की दिँदा एमालेले त्यसलाई आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय भनेको थियो । ‘उक्त अभिव्यक्तिको घोर भर्त्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुनसमेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ’, एमाले प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्तिमा भनेका थिए, ‘र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछौँ ।’

    एमालेको बागमती प्रदेश संगठन कमिटीले सांसद वैद्यलाई पक्राउ गरी ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाउन माग गरेको थियो ।

    काठमाडौंबाट निर्वाचित कांग्रेस सांसद वैद्यले प्रदेशसभा बैठकमा भनेका थिए, ‘केपी ओलीले अराजकताको सीमा नाघे । उनलाई कसै न कसैले ठीक लगाउनुपर्छ । आवश्यक परे म पनि नाथुराम गोड्से बन्न तयार छु ।’ गोड्सेले महात्मा गान्धीको हत्या गरेका थिए । त्यसैले वैद्यले ओलीको हत्या गर्ने आशयले अभिव्यक्ति दिएको भन्दै चौतर्फी आलोचना भएको थियो । कांग्रेसले समेत आत्मआलोचनाका लागि दबाब दिएपछि २९ जेठमा वैद्यले माफी मागेका थिए ।

    अहिले अध्यक्ष ओलीनिकट मानिएका बस्नेतले आफ्नै पार्टीका नेता नेपालमाथि ‘हातगोडा’ चलाउने धम्की दिँदा एमाले चुपचाप छ ।

  • १० श्रावण २०७८, आईतवार ०८:०९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images