एजेन्सी । अमेरिकाले चिनियाँ नेतृत्वलाई बद्नाम गराएको चीनले गुनासो गरेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनका एक वरिष्ठ प्रतिनिधिसँगको उच्चस्तरीय वार्तामा चिनियाँ अधिकारीले आफ्नो नेतृत्वको ‘बद्नाम’ गर्ने काम रोक्न अमेरिकासँग आग्रह पनि गरेको छ ।
चीनका उपविदेशमन्त्री शी फङले अमेरिकाले चीनलाई ‘कल्पित शत्रु’ का रूपमा हेरेकाले दुई देशबीचको सम्बन्धमा ‘तिक्तता’ बढेको बताएका छन् ।
अमेरिकी उपविदेशमन्त्री वेन्डी शर्मनसँगको वार्तामा चिनियाँ नेताले यस्तो बताएका हुन् । उनी नयाँ सरकार गठनपछिको धेरै महिनापछि चीन भ्रमण गर्ने वरिष्ठ अमेरिकी अधिकारी हुन् ।
बाइडनले चीनप्रति विशेषतः मानवाधिकार र प्रतिबन्धजस्ता विषयमा कडा नीति अवलम्बन गरेका छन् । चीनको विदेश मन्त्रालयले प्रकाशित गरेको विज्ञप्तिका अनुसार शीले अमेरिकाले ‘आफ्नै संरचनागत समस्याका लागि पनि चीनलाई दोष दिने गरेको’ दावी गरे ।
सोमवार सम्पन्न हुने दुईदिने भ्रमणका क्रममा शर्मनले दुवै दिन चीनको उत्तरपूर्वमा रहेको तियानजिन शहरमा विताएका छन् । धेरैले अमेरिका–चीनको यो वार्तालाई बाइडन र सी चिनफिङबीच हुन सक्ने भेटको तयारीका रूपमा लिएका अर्थ्याएका छन् ।